श्रीमती सुत्केरी भए एक किलो घ्यू


 


रुपन्देही, पुस १५

रुपन्देहीमा रहेको एउटा सहकारी संस्थाले शेयर सदस्यको श्रीमती सुत्केरीको भए एक किलो घ्यू र रु २०० को बाल बचत खाता खोल्ने कार्यक्रम शुरु गरेको छ ।

जिल्लाको सैनामैना नगरपालिका–४ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष ३२ सुत्केरीलाई सो सुविधा दिएकोे छ । तीन वर्षदेखि लागू भएको कार्यक्रम दुई बच्चा हुँदा मात्रै लागू हुने जनाइएको छ । यस क्षेत्रमा घ्यूको बजार मूल्य प्रतिकिलो रु एक हजार २०० रहेको छ । अहिलेसम्म ९५ जना सुत्केरीले यो सुविधा लिएका छन् । २०३२ सालमा कृषि विकास बैंकले गरीबी न्यूनीकरणका लागि सञ्चालन गरेको साना किसान विकास आयोजना २०५० सालमा स्थानीय सदस्यलाई हस्तान्तरण गरेपछि २०६० सालमा यसको स्थापना भएको बताइएको छ ।

संस्थाका सदस्यको आर्थिक तथा सामाजिक विकासका लागि आधुनिक प्रविधिको माध्यमबाट कृषिलाई व्यावसायीकरण र लघु उद्योग स्थापना गर्दै सदस्यहरूको जीवनस्तर वृद्धि गर्ने परिकल्पना रहेको संस्थाका प्रबन्धक दिनेश घिमिरेले जानकारी दिनुभयो । उहाँले अधिकांश कार्यक्रम कृषि क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै साना किसान विकास लघु वित्तको सहयोगमा कृषि प्रशिक्षार्थीका रूपमा कृषि क्षेत्रमा प्रविधिको प्रयोग तथा यान्त्रिकीकरणबाट कृषि उत्पादन वृद्धि गर्न १० जनालाई इजरायल पठाइएको बताउनुभयो । रासस

प्रकाशित मिति: १५ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्