सरकारले ८ लाख खर्चेर बाँडेको कोट राउटेले रक्सीसँँग साटे


 


सुर्खेत राउटेका लागि कर्णाली प्रदेश सरकारले ८ लाख खर्चेर वितरण गरेका कोट राउटेले मदिरासँग साटेका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले एक हप्ता अघि राउटेलाई जाडोका लागि भन्दै न्यानो कपडासँगै कोट वितरण गरेको थियो ।

सुर्खेतको लेकबेशी जंगलमा बसेका राउटे समुदायलाई निजामती कर्मचारीले प्रयोग गर्ने रंगको कोट दिए पनि राउटेले एक हप्ता पनि टिकाउन सकेनन् । गुन्यको पछ्यौरा ओढ्ने र आफ्नो छुट्टै पहिरन भएका राउटेहरु समुदायमा कोट बाँड्न प्रदेश सरकारले ८ लाख खर्च गरेको जनाएको छ । सरकारले कोटसहित अन्य न्यायो कपडा र खाद्यान्न पनि बाँडेको थियो । तर राउटेले खाद्यान्नबाहेक सबै कपडाहरु रक्सीमा साँटेको स्थानीयहरुले बताएका छन् ।

राउटेले सरकारले दिएको न्यायो लुगा र कोटहरु सस्तोमा बेचेको र रक्सीमा साटेको स्थानीयको भनाई छ । उनीहरुले कोट नलगाउने भन्दै स्थानीयसँग रक्सीमा साटेको लेकबेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले बताए । सरकारले राउटेलाई उपलब्ध गराएको न्यानो कपडा, खाद्यान्न र कम्बलहरू १÷२ दिनमै उनीहरुले रक्सीमा साटेको उनले बताए ।

राउटेको उत्थान र जीवनशैली सुधारका लागि भन्दै मन्त्रालयले न्यानो कपडा वितरणका लागि मात्रै ३ लाख ८८ हजार एक सय रुपैयाँ खर्च गरेको मन्त्रालयका महिला विकास शाखाका अधिकृत अनिता ज्ञवालीले बताईन् । मन्त्रालयले राउटे उत्थान प्रतिष्ठान केन्द्रनामक संस्थालाई रकम उपलब्ध गराएको थियो । मन्त्रालयको रकम खर्चेर प्रतिष्ठानका केही कर्मचारी राउटे बस्तीमा पुगेका थिए ।

राहत बिक्री गर्न अगुवाकै सल्लाह
राउटेको उत्थान र संरक्षणका लागि भन्दै जुटेका अभियन्ताहरु नै राउटेहरुलाई राहत सामाग्री बिक्री गर्न र रक्सी खान सिकाउने गरेको स्थानीयको आरोप छ । सरकारले आफुहरुलाई न्यानो कपडा दिन थालेको थाह पाए पछि उनीहरुले आधुनिक कपडा नलगाउने अडान लिएका थिए । तर, राउटे उत्थानका लागि काम गर्ने केही अगुवाहरुले सरकारी अधिकारी सहित आउने भएकाले उक्त सामाग्री बुझेर पछि बिक्री गर्ने सल्लाह दिएको स्थानीयले बताए । ‘केही गैरसरकारी संस्थाहरुले आफ्नो स्वार्थका लागि राउटेहरुलाई मदिरामा आकर्षित गर्ने गरेका छन्’ एक स्थानीयले भने ।

प्रदेश सरकार र स्थानीय सरकारको फरक मत
कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई समाजको मुल प्रवाहमा ल्याउनु पर्ने भन्दै सरकारले विभिन्न सामाग्रीहरु उपलब्ध गराइरहँदा स्थानीय सरकारले भने राउटेको मौलिक संस्कृतीलाई जोगाउनु पर्ने पक्षमा छ । दैलेखको गुराँस गाउँपालिकाको स्थायी बासिन्दाको परिचय पत्र बोकेका राउटेहरुको मौलिकालाई जोगाउनु गर्ने गाउँपालिका अध्यक्ष खेमराज ओलीले बताए । ‘राउटे संस्कृती हाम्रो संस्कृती हो, उनीहरुलाई आधुनिकतामा ल्याउन होइन उनीहरुको मौलिकता जोगाउनु पर्दछ’ उनले भने । खगेन्द्र भट्टराई नयाँ पत्रिका

प्रकाशित मिति: ३ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्