‘सरकारी अनुदानमा कर्मचारीलाई ५० प्रतिशत घुस ?’


 


काठमाडौं फागुन ३
देश दौडाहकै क्रममा लमजुङ पुगेका पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई लमजुङका एक किसानले सरकारी अनुदान पाउन कठिन भएको गुनासो पोखे । जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने क्रममा सुन्दरबजार नगरपालिका पाउँदीढीकका उद्यमी किसान खुशीराम मिश्रले किसान भएर बाँच्न सास्ती भएको भन्दै सरकारी कर्मचारीको गुलामी नगरे अनुदान नपाइने बताए ।

मिश्रले लगाएको आलु तरकारी विउविजन बारीको अवलोकन गर्दै भट्टराईले भने, ‘किसानको मिहेनत हेर्दा एकातिर समृद्ध नेपाल बन्छ भन्ने विश्वास जाग्यो भने अर्कोतिर सरकारी अनुदानमा कर्मचारीलाई पचास प्रतिशत घुस दिनुपर्छ भन्ने सुन्दा दिक्क लाग्यो !’

उनले भने, ‘वास्तविक किसानको पिडा सुन्ने कोही रहेनछ ।’ मिश्रको तरकारी खेती हेरेपछि ट्विटरमा लेख्दै भट्टराईले भने, ‘लमजुङको सुन्दरबजार न पा, पाउँदीढीकमा उद्यमी किसान खुशीराम मिश्र (हाम्रा निकट नातेदार) को आलु तरकारी विउविजन बारीको अवलोकन गर्दा एकातिर समृद्ध नेपाल बन्छ भन्ने विश्वास जाग्यो भने अर्कोतिर सरकारी अनुदानमा कर्मचारीलाई पचास प्रतिशत घुस दिनुपर्छ भन्ने सुन्दा दिक्क लाग्यो !’

सरकारी कर्मचारीलाई आधा अनुदान कमिशनवापत नबुझाएसम्म किसानले अनुदान नपाउने मिश्रको यो भनाईले निकै तरंग पैदा गरेको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्