१ नं. प्रदेशका ९० वर्ष माथिका जेष्ठ नागरिकलाई घर–घरमै गएर नगद ५ हजारसहित सम्मान् गर्ने घोषणा


 


विराटनगर, ३ फागुन

प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले एक वर्षको अवधिमा प्रदेशमा भएका कामको सराहना गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज विराटनगरमा आयोजित प्रदेश सरकारको एकवर्षे उपलब्धि सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेसम्म भएका कामप्रति जनता उत्साहित रहेको बताउनुभयो ।

उहाँले जनताका चाहना र आवश्यकतामा केन्द्रित भएर काम गरेमा प्रदेशलाई समृद्ध र सुखी बनाउन सकिनेमा जोड दिनुभयो । मुख्यमन्त्री शेरधन राईले प्रदेश तहको संरचना विल्कुलै नयाँ भएपनि जनताका काममा लगनशील भएर लागिरहेको प्रष्ट पार्नुभयो । उहाँले सुशासनमा कसैसँग सम्झौता नगर्ने बताउँदै प्रदेशमा ९० वर्ष पूरा गरेका नागरिकलाई  रु पाँच हजार घर–घरमै गएर प्रदान गरिने घोषणा गर्नुभयो ।

सभामुख प्रदीपकुमार भण्डारीले प्राकृतिक स्रोत र सम्पदामा सम्पन्न यस प्रदेशलाई विकासको बाटोमा डो¥याउन प्रदेश सरकार सफल भएकामा खुशी व्यक्त गर्नुभयो । मुख्यसचिव केदार न्यौपानेले प्रदेश सरकारले मितव्ययीता अपनाएकाले विकास कार्यमा मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो । त्यस अवसरमा प्रदेशको शान्ति सुरक्षालाई बलियो र सुदृढ बनाउन सुरक्षा निकायलाई २४५ थान मोटरसाइकल र १५ थान गाडी प्रदान गरिएको थियो ।

ती सवारी साधनका लागि रु १० करोड ५७ लाख खर्च गरिएको थियो । यसैगरी प्रदेश सरकारले एक वर्षको अवधिमा उत्कृष्ट कार्य गर्ने सचिव यज्ञबहादुर खत्री, प्रल्हाद सापकोटा, उपसचिव रवीन्द्र आचार्य, मनोजकुमार यादव, अनिरुद्रप्रसाद साह, खड्गप्रसाद चुँडाललगायत दुईदर्जन कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्