प्रदेश सरकार गठनको एक वर्ष पुरा भएको अवसरमा मुख्यमन्त्री राईको सम्बोधन


 


विराटनगर, फागुन ३

२०७४ फागुन ३ गते माननीय प्रदेश प्रमुखबाट सपथ लिएर मेरो नेतृत्वमा प्रदेश सरकार गठन भएको आज ठिक एक वर्ष पुरा भएको छ । प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको ऐतिहासिक अवसरमा सरकारको एकवर्षका उपलब्धिहरुको सार्वजानिकीकरण गर्न आयोजना गरिएको यस विशेष समारोहमा यहाँहरु सबैमा म प्रदेश सरकारको तर्फवाट हार्दिक स्वागत एंव अभिवादन व्यक्त गर्दछु ।

नेपालको इतिहासमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएर संविधान सभावाट जारी भएको संविधान बमोजिम हामीले पहिलो पटक संघीय ढाँचामा आधारित शासन प्रणाली अबलम्वन गरेसँगै सिंहदरबारमा केन्द्रित अधिकार स्थानीय तहसम्म पुगेको छ । यसरी संघीय प्रणालीको एउटा प्रमुख हिस्साको रुपमा प्रदेश सरकार गठन भएको कुरा सर्बविदितै छ ।

हामीलाई थाहा छ केन्द्र र स्थानीय निकायको अनुभव अभ्यास र पुराना विरासतहरु हामीसँग थिए । त्यसो भएर निर्वाचन सम्पन्न भए पश्चात त्यही विरासतमाथी उभिएर काम थाल्ने र पाइला चाल्न सक्ने अवस्था र वातावरण संघ र स्थानीय तहको हकमा रह्यो ।
तर प्रदेश तहको संरचना विल्कुल पहिलो र नौलो थियो हाम्रा लागि । प्रदेश तहको संरचना, अनुभव, अभ्यास र प्रयोग हामीसँग केही पनि थिएन । यसरी प्रदेश संरचना खडा भयो तर प्रदेश संरचनाको हकमा न उभिने आधार थियो, न हिड्ने बाटो, न बस्ने ठाउँ नै थियो । शून्यवाट, गुन्द्री र पिरामा वसेर काम थाल्नुपरेको यथार्थ कुरा मैले लगातार भन्दै आएको छु र यस समारोहमा समेत पुनः एकपटक स्मरण गराउन चाहन्छु ।

यसरी विल्कुल नयाँ र पहिलो संरचनाका रुपमा वनेको प्रदेश सरकारले एक वर्षको अवधि पुरा गर्दैै गर्दा यत्तिबेला विभिन्न कोणवाट समिक्षा र मूल्यांकन भइराखेको छ र त्यो हुनैपर्दछ । स्वस्थ एवं वस्तुनिष्ठ समिक्षा र मुल्यांकनले नै आगामी दिनमा अगाडि बढ्नको लागि सही आधार र मार्गदर्शन प्रदान गर्न सक्दछ भन्ने म ठान्दछु । त्यसैले स्वस्थ एवं वस्तुनिष्ठ समिक्षाका साथ महत्वपुर्ण पृष्ठपोषणको लागि यहाँहरु समक्ष हार्दिक अपिल गर्न चाहन्छु ।

हामीले प्रदेशको सबै संरचनाहरु छोटै समयमा तयार गर्न सकिन्छ भन्ने सोचेका थियौं तर पहिलो पटक देश नयाँ प्रणाली, नयाँ बाटोमा हिड्नु परेको एउटा संक्रमणकालिन अवस्थाका कारण, कानुनहरुको अभाव अर्थात आफैले कानुनहरु वनाउनुपर्ने भएका कारण, संघीय सरकारका तर्फबाट शुरुमा व्यवस्थापन र हस्तान्तरण गर्नुपर्ने अधिकार संरचनाहरुमा विलम्व भएका जस्ता कारणहरुले आज मैले भन्नैपर्छ छ महिना भन्दा वढी राजनीतिक संरचनामा मात्र खुम्चिएर वस्नुपर्याे ।

अहिले बल्ल प्रशासनिक लगायतका संगठन संरचनाहरु निर्माण हुने क्रम जारी छ । धेरै प्रदेश कार्यालयहरु स्थापित भइसकेका छन् । कार्यालय स्थापना भइसकेपछि कामको प्रक्रिया संस्थागत ढंगले अगाडि बढ्ने आधार तयार भएर प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन शुरु भएको छ ।

यसप्रकार धेरै चुनौती, अप्ठ्यारा र असहजताहरुका बावजुद प्रदेश सरकार सही बाटोमा, सकारात्मक उपलव्धिहरुका साथ यहाँसम्म आइपुगेको छ । सरकार मितव्ययी ढंगले अगाडि बढेको छ । प्रदेशवासी जनतामा सुरक्षा, सुशासन र सम्मानको अनुभूति दिलाउन सरकार सफल भएको छ ।

हाम्रो यो पहिलो वर्ष कानुन निर्माण, संरचनागत आधार तयार, निजि क्षेत्र सँगको सहकार्यको आधार निर्माण, विकास साझेदारहरु संगको सहकार्य, आवधिक योजनाको निर्माण, नेपालकै सन्दर्भमा नौला अभियानहरुः सुरक्षा र सुशासनका लागी घरघरमा स्टीकर टाँस अभियान, सडक सुरक्षा र सुशासन अभियान, सिमा सुरक्षाका लागी विओपीहरुको निर्माण, अत्याधुनिक र सुविधासम्पन्न रिफ्रेस्मेन्ट सेन्टरको स्थापना, बलियो र भरपर्दो आत्मनिर्भर अर्थतन्त्रका लागि हरित अभियानको घोषणा, प्रविधियुक्त शिक्षा लागू गर्ने आधार निर्माण, कम्प्युटर ल्याबहरुको स्थापना गर्ने तर्फका कदमहरु, आज मात्रै सुरक्षा निकायलाई अत्यावश्यक सवारी साधनहरुको साँचो हस्तान्तरण गरेर सुरक्षा निकायलाई भरपर्दो, उच्चमनोबलयुक्त, चुस्त र व्यवस्थित बनाउने काम गरिएको छ । यी उल्लेख्य उपलव्धिका पक्षहरु हुन् ।

हाम्रो प्रदेशको विकासमा खासगरी कृषि, पर्यटन, उर्जा, वन वातावरण, उद्योग र सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न र सहकार्य गर्न नेपालको विकासका साझेदारहरु, नेपाल उद्योग वाणिज्य महासंघ, अन्य संघसंस्था लगायत निजि क्षेत्रका लगानीकर्ताहरुको ध्यान आर्कषित गर्न र सहकार्य गर्नका लागि महत्वपूर्ण आधारहरु तयार गर्न हामी सफल भएका छौ ।

प्रदेशको योजनावद्ध आधुनिक विकासका लागि प्रदेश योजना आयोगको गठन, आवधिक योजनाको तर्जुमा, आयोजनाहरुको वर्गिकरण प्राथमिकीकरण गर्दै अगाडि बढ्नु र वित्तिय अनुशासन कायम गर्न सक्नु अर्को महत्वपूर्ण उल्लेख्य पक्षको रुपमा मैले लिएको छु ।
प्रदेश सरकार र प्रदेशसभाप्रति जनतालाई जोड्दै हामीले प्रदेशको विकास समृद्धि र सुशासनमा जनताले आशा र भरोसा गर्ने एकमात्र संस्थाको रुपमा प्रदेशलाई स्थापित गर्न यसवीचमा सफल भएकाछौ । छोटो अवधिमै प्रदेश सरकारप्रति जनताको आशा, विश्वास र भरोसा गर्ने अवस्था सिर्जना भएको छ त्यो वढीराखेको छ यो अत्यन्तै सकारात्मक र उपलव्धीको पक्ष हो ।

संघीयता कार्यान्वयनको आधारभूत महत्वपूर्ण संरचना भनेको प्रादेशिक संरचना हुने भएकोले प्रदेश संरचनालाई बलियो वनाउँदा मात्र संघीयता प्रभावकारी हुन सक्ने भएकोले त्यस अर्थमा प्रदेश सरकार प्रादेशिक संरचनाहरुलाई व्यवस्थित गर्ने कुरामा केन्द्रित छ ।
सुशासन, विकास र समृद्धि अर्थात समृद्ध प्रदेश, सुखी जनताको लक्ष्य हासिल गर्न सरकार प्रतिवद्ध छ । यस लक्ष्य र उद्देश्यका साथ अगाडि बढिरहेको प्रदेश सरकारलाई सबै क्षेत्रको साथ, सहयोग र सदभाव प्राप्त भएको छ । आगामी दिनहरुमा पनि म यसरी नै सबै क्षेत्रबाट साथ सहयोग प्राप्त गर्ने अपेक्षा राख्दछु ।

म विशेष गरेर प्रदेश सभा माननीय सभामुख, उपसभामुख, प्रदेशसभामा प्रतिनिधित्व गर्ने सत्तापक्ष, प्रमुख विपक्षी दल, अन्य सवै दलसँग सम्वद्ध माननीय सदस्यहरुलाई आभार व्यक्त गर्न चाहन्छु । सहमति र सहकार्यको अनुपम नमुना प्रदेश नं १ को प्रदेश सभाले प्रस्तुत गरेको छ । र, नै २३ वटा कानुन निर्माण गरेर आफुलाई पहिलो कानून निर्माणमां १ नम्बरमा उभ्याउन सफल भएको छ ।
म कर्मचारीलाई विशेष धन्यवाद भन्न चाहन्छु । जस्ले पहिलो पटक निकै अप्ठ्यारो कष्ट व्यर्होदै संघीयता कार्यन्वयनमा अहोरात्र खटनुभयो । हामीले यो पहिलो वर्ष धेरै केही गर्न सकेनौ सानो सम्मान मात्र आज गरिएको छ । आगामी आर्थिक वर्षमा तपाई सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई विशेष प्रोत्साहन घोषणा गर्ने कुरा राख्न चाहन्छु । साथै उच्च मनोवलका साथ ऐतिहासिक जिम्मेवारीमा दत्तचित्त भएर पुरा गर्न म आव्हान गर्न चाहन्छु ।

प्रदेश सरकारले आफनो एकवर्षे कार्यकाल पुरा गरेको यस ऐतिहासिक अवसरमा यसै आर्थिक वर्षमा प्रदेशका अति ज्येष्ठ नागरिक ९० वर्ष भन्दा माथिका वृद्धवृद्धा आमावुवाहरुलाई सरकारको तर्फवाट रु. ५००० नगद सहित घर–घरमा सम्मान गर्ने घोषणा सरकारको तर्फवाट गर्न चाहन्छु ।

अन्त्यमा,
प्रदेश सरकारलाई सहयोग पु¥याउनुहुने प्रदेशसभा, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, निजिक्षेत्र, कर्मचारी, पत्रकार र आमनागरिकलाई हार्दिक आभार व्यक्त गर्दछु ।
(प्रदेश नं १, प्रदेश सरकार गठन भएको एकवर्ष पुरा भएको अवसरमा सरकारका उपलव्धीहरु सार्वजानिकीकरण गर्न आयोजित कार्यक्रममा मुख्यमन्त्रीको सम्बोधनको सम्पादित अंश)

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्