मन्त्रिमण्डल हेरफेरबारे प्रचण्डको खुलासा, के भएको छ तयारी ?


 


विराटनगर, २० फागुन– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको अवस्थामा मन्त्रिमण्डल पुनःगठन गर्ने कुनै तयारी नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका दुई अध्यक्षको बीचमा मन्त्रिमण्डल हेरफेर गर्ने विषयमा कुनै छलफल नभएको प्रष्ट पारे । पूर्वप्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल पुनःगठन प्रधानमन्त्रीको अधिकार भएकाले पत्रपत्रिकामा आएजस्तो यस सम्बन्धमा दुई अध्यक्षबीच कुनै चर्चा नभएको बताए ।
‘वर्तमान सरकारले गियर परिवर्तन गरिसकेकाले पछिल्लो निर्णय र विकास निमार्ण घोषणाले पनि सरकारले गति लिएको प्रष्ट हुन्छ’, उनले भने, ‘विकास निर्माण र समृद्धिको जनताको सपना पूरा गर्न सरकार सफल हुनेछ ।’ उनले दुवै पार्टीको एकीकरण कार्य अन्तिम चरणमा पुगेकाले त्यसलाई टुङ्गो लगाउन मात्र बाँकी रहेको प्रष्ट पारे ।

उनले अतिवादीलाई राजनीतिक र सरकारी संयन्त्रमार्फत नियन्त्रणमा ल्याउने विचार व्यक्त गरे । शान्ति प्रक्रियामा सहभागी भइसकेको नेकपा माओवादीले हातहतियार व्यवस्थापन गरिसकेको अवस्थामा अहिले त्यो बेलाको हातहतियार कसरी कहाँबाट आयो भन्नेकुरा थाहा नभएको उनले प्रष्ट पारे ।

सङ्घीय समाजवादी फोरमसँग भएको तीन बुँदे सहमतिअनुसार संविधान संशोधन आवश्यक समयमा गरिने अध्यक्ष प्रचण्डको धारणा थियो । उनले राष्ट्रिय जनता पार्टी राजपालाई सरकारमा सहभागी गराउने विषयमा कुनै निर्णय नभएको जानकारी दिए । ‘राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सम्बन्धमा कुनै जानकारी आएको छैन’, उनले भने ।

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्