कमल थापा असन्तुष्ट, आन्दोलनको आँधी ल्याउने चेतावनी


 


कञ्चनपुर, २५ फागुन
सरकार र सिके राउतबिच भएको सम्झौताप्रती राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा असन्तुष्ट बनेका छन् । थापाले सरकार र राउतबिच भएको सम्झौताकाे सरकारले एक हप्ताभित्रमा आफ्नो धारणा सार्वजनिक नगरे राष्ट्रिय अखण्डताको रक्षाका लागि राप्रपाले आन्दोलनको आँधी ल्याउने चेतावनी दिएका छन् ।

कञ्चनपुरमा आयोजित एक पत्रकार सम्मेलनमा अध्यक्ष थापाले राष्ट्र विखण्डनको विषयलाई नागरिकको अभिमतबाट सम्बोधन गर्ने कदापि स्वीकार्य नहुने पनि बताएका छन् ।

उनले १२ वर्षे कलंकित राजनीतिक अभ्यासका कारण देश टुक्र्याउने विखण्डनकारी तत्वको जन्म भएको र सरकार र सीके राउतबीच भएको सम्झौता शंकास्पद रहेको बताए ।

‘सीके राउत र गृहमन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमा जनमत संग्रहको उल्लेख भएको छैन’, उनले भने, ‘सबै राजनिीतक दलहरुको असन्तुष्टिलाई जनताको अभिमतबाट निराकरण गर्न सकिन्छ भन्ने शब्दावली परेको छ ।’

सहमति सैद्धान्तिक रुपमा ठिक भए पनि सीके राउतले उठाएको विषयमा नागरिकको अभिमतबाट सम्बोधन गर्ने कुरा स्वीकार्य नहुने थापाले बताए । ‘मधेशका समस्या, हक, अधिकार र पहिचानको निराकरण संविधान र जनमतबाट हुन सक्छ’, थापाले भने, ‘तर, राष्ट्रिय अखण्डता, सार्वमभौमिकता र स्वतन्त्रताको विषयमा कदापि आँच पुर्‍याउन पाइँदैन ।’

सम्झौताको दस्तावेजमा सीके राउतले प्रष्ट भाषामा राष्ट्रिय अखण्डताप्रति प्रतिबद्ध नहुनु, विगतमा देश टुक्राउने भन्दै दिएको अभिव्यक्तिमा पश्चाताप नगर्नु र आफ्ना मागलाई जनमतबाट टुङ्गाउने सहमति भएको छ भन्ने कुरा विवादित भएको अध्यक्ष थापाले बताए ।

‘सरकारले एक हप्ता भित्र राष्ट्रिय अखण्डताका बारेमा र जनअभिमतबाट टुङ्गाउने भन्ने शब्दका बारेमा धारणा सार्वजनिक गर्नुपर्छ’, थापाले भने, ‘अन्यथा यो विषयलाई रहस्यमय राखियो भने त्यसको परिणाम अत्यन्तै डरलाग्दो हुन सक्छ ।’

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्