चैत १० गते प्रमुख आयुक्त र आयुक्त रिक्त हुँदै : दाहालको दैलोमा तगारो


 


काठमाडौं । निर्वाचन आयोगमा केही दिनभित्रै दुई पद रिक्त हुँदै छ   ती पदसंगै अबको प्रमुख निर्वाचन आयुक्त को हुने भन्ने चासो पनि बढेको छ । चासो यतिबेला बढ्नुमा निकै रमाईलो पक्ष पनि जोडिएर आएको छ । आउँदो २०७५ चैत १० गते प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माको म्याद सकिदैछ । आयोगका पुराना र वरिष्ठमध्येमा पर्ने यी दुवै जानको म्याद सकिएपछि स्वभाविकरुपमा प्रमुख निर्वाचन आयुक्त र अन्य दुई आयुक्त को को हुने हुन भन्ने चासो बढ्ने नै भयो ।

त्यस अर्थमा अबको केही दिनमै बस्ने संवैधानिक परिषद्को बैठकले तय गर्ने चर्चा पनि छ । आयोगमा इलाको लीला समाप्त हुने भयो भनेर कर्मचारीमा भने खुसी छाएको स्रोत बताउछ । आयोगको टिभी घरमा लैजानेदेखि आफ्नै घरमा बसेर घर भाडा लिनेमात्र होइन, आफ्नो गाडीका लागि पेट्रोल, डिजेल र नगदसमेत लिएर आयोगको रकममा ब्रम्हलुट मच्चाएको आरोप इलामाथि लाग्दै आएको छ । त्यस्तो अनियमिततामा प्रमुख आयुक्त यादव पनि जोडिने गरेका छन् ।

अहिले रमाइलो कुरा चाहिं के भएको छ भने प्रधानमन्त्री केपी ओलीको निकटमा रहेरमात्र होइन पार्टीको निर्देशन नै स्वीकार गरेर आयोगमा काम गरेका आयुक्त नरेन्द्र दाहाल प्रमुख आयुक्त हुने हुन कि होइनन् भन्ने प्रश्न उठेको छ । सम्बन्धको हिसाबले प्रधानमन्त्री ओलीसंग निकट रहेका र पारिवारिक हिसाबले पनि झापा घर भएका दाहाल प्रमुख आयुक्तका दाबेदार हुन् । त्यसमाथि बाँकी तीनजनामध्ये सिनियर भएको हुनाले दाहालको दावेदारी स्वभाविक देखिन्छ । संयोग कस्तो परेको छ भने दाहालसहितको ईश्वरीप्रसाद पौडेल, सुधीर शाहको टोली अर्को निर्वाचनसम्म रहने छैन । उनीहरूको कार्यकाल अर्को निर्वाचन अगावै सकिनेछ ।

नेकपानिकट नेताहरूको अनुसार, विगतको परम्पराका हिसाबले दाहाल प्रमुख निर्वाचन आयुक्तको दावेदार हुन् । तर, अहिले प्रधानमन्त्री केपी ओली दाहालसंग खुसी नरहेको र भेट पनि दिएका छैनन । जसले गर्दा विगतको परम्परा तोडिन सक्ने संभावना पनि देखिएको छ । त्यसमाथि स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको बेलामा दाहालको भूमिका प्रभावकारी र अडानसहितको नदेखिएको भन्दै पीएम ओली असन्तुष्ट रहेको स्रँेतको दावी छ । त्यसमाथि आर्थिक अनियमितताको विषयमा दाहाल पनि जोडिदै आएका छन् ।

दोस्रो संविधानसभाको निर्वाचनको समयमा आयोगमा सचिवका रुपमा काम गरेका दाहालको कमिशन खाने एउटा गतिलो टीम नै आयोगमा क्रियाशील रहेको स्रँेतको दावी छ । त्यही टीममार्फत स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समयमा कमिशन बुझेको चर्चा अहिले पनि छ । अझ महालेखा परीक्ष्ँकको कार्यालयले गरेको लेखापरीक्षणमा देखिएका अनियमितताको फेहरिस्तमा दाहाल पनि मुछिएका छन् । सोही कारण अहिले दाहालको भाग्य कमजोर बन्न थालेको चर्चा छ ।

अघिल्लोपटक नै प्रमुख निर्वाचन आयुक्त बनाउने भनेर युवराज संग्रौलाको नाम चर्चामा थियो तर प्रमुख आयुक्त आयोगकै वरिष्ठ आयुक्तलाई बनाउन गरिएकोले अयोधी यादवले मौका पाएका थिए । तर, अहिले आयोगमा काम गर्न सक्ने क्षमताका आयुक्तको कमीले गर्दा प्रमुख आयुक्त बाहिरबाट ल्याउन सकिने चर्चा नेकपामा चल्न थालेको स्रोत बताउछ । (साँघुन्युजबाट

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्