हवाई भाडा घट्याे, कहाँ जाँदा कति भाडा ? (सूचि सहित)


 


काठमाडौं, माघ ६

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा  घटाउने निर्णय गरेका छन्। घटेको भाडा अाजबाट लागु हुँदैछ। अधिकतम साढे १८ प्रतिशतसम्म भाडा घटाउने वायुसेवा कम्पनीहरूले निर्णय गरेका हुन् । नेपाल आयल निगमले सोमबार मध्यरातबाट ‘एयर टर्बाइन फ्युल’ (हवाई इन्धन) को भाउ प्रतिलिटर ६९ रुपैयाँका दरले घटाएर प्रतिलिटर १ सय ६४ रुपैयाँमा झारेपछि वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले मंगलबार हवाई भाडा घटाउने निर्णय गरेको हो।

सोमबारसम्म हवाई इन्धनको भाउ प्रतिलिटर २ सय ३३ रुपैयाँ थियो। इन्धनको भाउ २९.६ प्रतिशतले घटेपछि वायुसेवा कम्पनीहरूले न्यूनतम १६.९ प्रतिशतदेखि अधिकतम १८.६ प्रतिशतसम्म हवाई भाडा घटाउने निर्णय गरेका हुन्। हवाई इन्धनको भाउ घटबढ हुँदा वायुसेवाहरूले ‘फ्युल सरचार्ज’ शीर्षकमा थपघट गर्ने गर्छन्। यो थपघट हवाई टिकटमै जोडिएको हुन्छ । वायुसेवा कम्पनीले फ्युल सरचार्ज भन्ने गरे पनि यात्रुले यसलाई भाडा घटेको/बढेको रूपमै लिन्छन् ।

Rateसंघले काठमाडौंबाट मुलुकका विभिन्न गन्तव्य जाने भाडा दर घटाएको हो। तर, उताबाट काठमाडौं फर्कंदा भने भाडा बढाइएको छ। यसअघि गत कात्तिक २३ मा एकैचोटि अधिकतम ७१ प्रतिशतसम्म हवाई भाडा बढाएको थियो । मुलुकको उड्डयन इतिहासमै पहिलो पटक यति भारी परिमाणमा भाडा वृद्धि भएको थियो।

आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर १ सय १५ रुपैयाँका दरले बढाएर प्रतिलिटर २ सय ३३ रुपैयाँ पुर्याएपछि त्यसबेला संघले पनि हवाई भाडा बढाएको थियो। निगमले त्यसबेला इन्धन भाउमा ९७.४ प्रतिशतले भारी वृद्धि गरेको थियो। यहाँ इन्धन भाउ बढेका कारण काठमाडौंबाट जाँदा भाडा बढेको थियो भने काठमाडौं बाहिर इन्धन मूल्य यथावत रहेकाले भाडा बढेको थिएन।

तर अहिले भने निगमले काठमाडौं बाहिरका विमानस्थलमा हवाई इन्धनको भाउ प्रतिलिटर ४६ रुपैयाँ वृद्धि गरी प्रतिलिटर १ सय ६४ रुपैयाँ पुर्याएको छ। यो भनेको ३८.९ प्रतिशतको वृद्धि हो।

संघका अनुसार न्यूनतम ७ सय ७५ देखि अधिकतम २ हजार ६ सय ७० रुपैयाँसम्म सरचार्ज घटाउने निर्णय भएको छ। अब काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको सिमरा जान ३ हजार ३ सय ८५ रुपैयाँ तथा सबैभन्दा टाढा (१ घन्टा २० मिनेट) दुरीको धनगढी जान १३ हजार १ सय २५ रुपैयाँ तिरे पुग्छ। यसमा विमानस्थल कर २ सय रुपैयाँ जोडिएको छ। मंगलबारसम्म सिमरा जान ४ हजार १ सय ६० र धनगढी जान १५ हजार ७ सय ९५ रुपैयाँ पथ्र्यो। यी सबै भाडा दर करसहित हुन्। सबै भाडा ‘नर्मल’ हुन ।

त्यसैगरी अब माउन्टेन फ्लाइटलाई प्रतियात्रु २ हजार ५ सय ८५ रुपैयाँ, पोखरा १ हजार १ सय ६३, भैरहवा १ हजार ४ सय २३, विराटनगर १ हजार ५ सय ९३, नेपालगन्ज २ हजार २३, भद्रपुर १ हजार ८ सय ९५, तुम्लिङटार १ हजार ४ सय २३, जनकपुर १ हजार ३५ र भरतपुरलाई ९ सय ३ रुपैयाँ कम तिरे पुग्छ ।

त्यसैगरी बुधबारदेखि काठमाडौंबाट माउन्टेन फ्लाइट जान प्रतियात्रु ११ हजार ४ सय ८५ रुपैयाँ, पोखरा जान ५ हजार ३ सय २७, भैरहवा ६ हजार ६ सय ३७, विराटनगर ७ हजार ५ सय ६०, नेपालगन्ज ९ हजार ८ सय ६५, भद्रपुर ९ हजार १ सय ७५, तुम्लिङटार ६ हजार ३ सय २५, जनकपुर ४ हजार ५ सय ७० र भरतपुर जान ३ हजार ९ सय ४७ रुपैयाँमात्र लाग्छ ।

प्रकाशित मिति: ६ माघ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्