नेपाली सेनामा जागिर खुल्याे


 


काठमाडाैं, माघ ७

नेपाली सेनामा एक सय ७५ जनाका लागि जागिर खुलेको छ । नेपाली सेनाको कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय जंगी अड्डाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्दार पदहरुका लागि दरखास्त आह्वान गरेको हो ।

नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका पदहरुमा समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने नेपाली सेनाले जनाएको छ ।आवेदकले आवश्यक कागजात तथा शैक्षिक योग्यताको प्रमाणपत्रसहित स्वयम उपस्थित भएर १० रुपैयाँको टिकट टाँसेर दरखास्त पेस गर्न सक्नेछन् ।

दरखास्त दिन यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्म समयसीमा रहेको र त्यसपछि दोब्बर दस्तुर तिरेर सात दिनसम्म आवेदन दिन सकिने सेनाले जनाएको छ । आवेदनसँगै सबै ट्रेडको पदिक (प्रा.सु) का लागि चार सय रुपैयाँ, सबै ट्रेडको पदिक (प्रा.ज.म) का लागि तीन सय रुपैयाँ र सबै ट्रेडको बिल्दार (प्रा.अम.)को लागि दुई सय रुपैयाँ आवेदन दस्तुर तिर्नुपर्नेछ ।

आवेदन दिनका लागि जंगी अड्डाको पश्चिममा रहेको खेल मैदान क्षेत्रमा पुग्नुपर्ने छ । नेपाली सेनामा बहालवाला रहेको उम्मेद्वारहरुका लागि भने आवश्यक शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने भए पनि उमेर हद लाग्ने छैन ।

दरखास्त पेश गर्ने अन्तिम दिन फागुन ७ गते सेवा सुरु गरेको अवधि न्यूनतम एक वर्ष पूरा हुनपर्ने छ भने युनिटपति/सम्बन्धित पतिको सिफारिस अनिवार्य रुपमा पेश गर्नुपर्ने नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति: ७ माघ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्