के अब राजेन्द्र महताे सुध्रिएकै हुन् ?


 


काठमाडाैं, माघ २१

अहिलेकाे मधेश अान्दाेलन र अघाेषित नाकाबन्दीकाे प्रमुख पात्र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाइ धेरैले लिन्छन् । हुन पनि यस बिचमा उनकाे भूमिका पनि अान्दाेलनकाे प्रमुख पात्रकाे जस्तै देखिन्थ्याे । संविधान घाेषणा पछि महताेले जे भूमिका खेले त्याे जनमानसमा सधै दुखिरहने घाउ जस्तै बन्याे ।

तर अहिले तिनै महताे बदलिएका छन् । उनका बाेलीहरू क्रमश नरम हुन थालेका छन् । महताे भन्न थालेका छन् तत्काल वीरगन्ज नाका पनि खाेल्नुपर्छ । मोर्चाका नेताहरू महन्थ ठाकुर र उपेन्द्र यादवले नाकाबन्दी जारी रहने बताइरहेका बेला सद्भावना अध्यक्ष महतोले वीरगन्ज नाका पनि खोल्नुपर्ने बताउन थालेका छन् ।

महताे तिनै ब्यक्ति हुन्, जाे मधेसी मोर्चाले नाकाबन्दी सुरु गर्दा वीरगन्जमा नाका अवरुद्ध  गर्न लामो समयसम्म उक्त नाकामा धर्नामा सहभागी भएका थिए । सञ्चारकर्मीहरूसँग महताे भन्न थालेका छन् ‘वीरगन्ज नाका मात्रै बन्द गरेर नाकाबन्दी हँुदैन् । कि त सबै नाका बन्द गर्नुपर्‍यो नभए वीरगन्ज नाका तत्काल खोल्नुपर्‍यो ।’

उनले सबै नाका खुल्ला र सहज भइसकेको अवस्थामा वीरगन्ज नाका मात्र बन्द गर्न नहुने विषयमा मोर्चाका अन्य नेतासँग आफूले कुराकानी गरेको जानकारी समेत दिन थालेका छन् । ‘अरु सबै नाका खुल्ला रहेको र वीरगन्ज नाका मात्रै बन्द हुँदा तस्करी मौलाएको, स्थानिय जनताले दुख पाएको तथा तस्करीको सामान काठमाडौंसम्म पुग्ने गरेका कारण काठमाडौंमाथी दबाब बन्न नसकेकोले या त सबै नाका बन्द गर्नुपर्छ, नभए वीरगन्ज पनि खोल्नुपर्छ भन्ने मेरो धारणा हो,’ महतोले भन्छन् ।

उनले नाका केन्द्रित आन्दोलन नै गर्ने भए काठमाडाैं छोडेर मोर्चाका सबै नेता नाकामा आएर बस्नुपर्ने भन्दै सबै नाका ठप्प पारे मात्र वीरगन्ज पनि बन्द गर्नुपर्ने बताए । ‘विरगञ्ज मात्र बन्द गरेर स्थानिय जनताले मात्रै दुख पायो,’ महतोले भने,  ‘नाकाबन्दीे त राज्यलाई दबाब दिन सुरु गरिएको हो नि जनतालाई दुख किन पुर्‍याउनु ?’ तस्करी मौलाएकाले राज्यमाथी नाकाबन्दीको दबाब नपुगेको बरु जनता नै पीडित हुन थालेको उनले बताए ।

प्रकाशित मिति: २१ माघ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्