भोजपुर कांग्रेसमा संस्थापन पक्ष बलियो


 


भोजपुर, माघ २३
नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा भोजपुरमा संस्थापन पक्ष बलियो देखिएको छ । क्षेत्रिय सभापति तथा महाधिवेशन प्रतिनिधिका लागि शुक्रबार भएको निर्वाचनको मत परिणाम अनुसार संस्थापन पक्ष बलियो देखिएको हो । दुई क्षेत्र रहेको भोजपुरमा क्षेत्रिय सभापतिमा भने दुबै पक्षका सभापति चयन भएका छन् ।

क्षेत्र नं १ मा देउवा पक्षका पुष्प कुमार तामाङ र क्षेत्र नं २ मा संस्थापन पक्षका उदिप राई सभापतिमा निर्वाचित भएका हुन् । क्षेत्र नं १ मा देउवा पक्षकै जनक घलेलाई पराजित गर्दे तामाङ निर्वाचित भएका छन् । उनले १७१ मत प्राप्त गरे भने घलेले ११५ मत प्राप्त गरेका थिए ।

त्यस्तै क्षेत्र नं २ मा संस्थापन पक्षकै दुई जनालाई पराजित गर्दे राई निर्वाचित भएका छन् । राईले ११६ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्धन्द्धी मदन खुलालले ९९ र जगत चौहानले ३८ मत प्राप्त गरेका छन् ।

२० जना महाधिवेशन प्रतिनिधिमा १२ जना संस्थापन पक्षका निर्वाचित भएका छन् भने आठ जना देउवा पक्षका प्रतिनिधि छनोटमा परेका छन् । क्षेत्र नं १ मा देउवा पक्ष बलियो देखिएको छ भने क्षेत्र नं २ मा संस्थापन पक्ष एकलौटी हाबी भएको छ ।

क्षेत्र १ मा पूर्वमन्त्री एंव केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको प्रत्यक्ष प्रभाव देखिएको छ । यस क्षेत्रमा देउवा पक्षमा क्षेत्रिय सभापति सहित सात जना महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन् । क्षेत्र नं दुईमा देउवा पक्षका एक प्रतिनिधि मात्र छनोट हुन सफल भएका छन् भने क्षेत्रिय सभापति सहित नौ जना प्रतिनिधि संस्थापन पक्षले छनोट गर्न सफल भएको छ ।

क्षेत्र नं १ मा देउवा पक्षका महाधिवेशन प्रतिनिधिहरुमा हेमन्त मुकारुङ्ग, बिरबल राई, हरि प्रसाद खतिवडा, बालकृष्ण राई, निर्मला गौतम, रेणु राई र रोहित विक छनोट भएका छन् । त्यस्तै संस्थापन पक्षमा नन्दमणी राइ, विनोद बान्तावा र उत्तम कुमार चाँपागाई छनोट भएका हुन् । त्यस्तै क्षेत्र नं २ मा संस्थापन पक्षबाट बालकृष्ण थापा, कैलाश कुमार आले, गोविन्दबहादुर कार्की, गजेन्द्र कार्की, मित्र राई, दिनेश कार्की, शिशिरा राई, निमा शेर्पा र निर कुमार विक छानिएका हुन् । देउवा पक्षमा भने माया राई मात्र छनोट भएकी छन् ।

प्रकाशित मिति: २३ माघ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्