फेसबुक हेरेर कार्यक्रता पक्राउ गर्न थालेपछि विप्लव समूहले अपनायो यस्तो सावधानी


 


काठमाडौं चैत १३
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु सामाजिक सञ्जालबाट समेत टाढा भएका छन्।

पार्टीलाई प्रतिबन्ध लगाएर सरकार कठोर बन्दै गएपछि नेता, कार्यकर्ताहरु फेसबुक अकाउन्ट नै बन्द गरेर भूमिगत भएका हुन्।

पार्टीका उच्च तहका नेताहरु नै पक्राउ पर्न थालेपछि दर्जनौं नेताहरुले फेसबुक अकाउन्ट पनि बन्द गरेर भूमिगत भएका छन्। फेसबुक अकाउन्टबाट व्यक्तिको पृष्ठभूमि, गतिविधि एवं फेसबुक लग इन भएको लोकेसन ट्रयाक गर्न सम्भव हुन्छ। यसबाट पक्राउको खतरा रहने भएकाले उनीहरुले फेसबुक छोडेको स्रोतको भनाइ छ।

सम्पर्क नम्बर अफ गरेर भूमिगत भएका कतिपय नेताहरुका फेसबुक अकाउन्ट अस्तित्वमा रहे पनि ती निस्क्रिय छन्। सुरक्षाकर्मीको सक्रियता बढेसँगै उनीहरुले कुनै अपडेट गरेका छैनन्। मोहन कार्की ‘जीवन्त’ प्रकाउ परेदेखि नेताहरुले फेसबुक छोड्ने क्रम सुरु भएको थियो।

स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शन फेसबुकबाटै ट्रयाकिङमा परेको प्रतिबन्धित नेकपा स्रोतहरुको दाबी छ। उनी काभ्रेबाट पक्राउ परेका थिए। त्यसयता नेता कार्यकर्ताले फेसबुक छोड्ने कार्यले तीब्रता पाएको हो।

माथिल्लो तहका नेता नेत्रविक्रम चन्द विप्लव, खड्कबहादुर विश्वकर्मा र कमाण्डरहरु अनिल शर्मा ‘बिरही’ (पूर्वी कमाण्ड इन्चार्ज) का फेसबुक अकाउन्ट ‘डिएक्टिभेट’ भएका छन्। महासचिव विप्लवले चलाउने फेसबुक अकाउन्ट बन्द भएको छ। उनको नाममा खोलिएका फेसबुक पेज भने अस्तित्वमा छन्। ती पेजहरू लामो समयदेखि अपडेट छैनन्।

दिपेश राई (सगरमाथा ब्यूरो), सन्देश पौडेल (जनकपुर ब्यूरो), नन्दबहादुर बुढा मगर (पूर्वी ताम्सालिङ ब्यूरो), ध्रुव घिमिरे (धवलागिरी ब्यूरो), नेतृ उमा भुजेलको फेसबुक अकाउन्ट ‘डिएक्टिभेट’ भएको छ। जिल्ला तहका नेताहरूले समेत सामाजिक सञ्जाल छोडेका छन्।

हाई कमाण्ड नेता सन्तोष बुढामगर, कमाण्ड सम्हालेका नेता धर्मेन्द्र बास्तोला (पश्चिम कमाण्ड), मोहलाल चन्द (पश्चिम ताम्सालिङ), सावित्री दूरा (गण्डक ब्यूरो इन्चार्ज), चन्द्रबहादुर चन्द (लुम्बिनी ब्यूरो), रामप्रसाद तिमिल्सिना ९महाकाली ब्यूरो० पनि फेसबुकमा निस्क्रिय छन्। उनीहरुले अकाउन्ट ‘डिएक्टिभेट’ नै त गरेका छैनन्। तर, सक्रिय छैनन्।

अन्य उच्च तहका नेताहरु पदम राई, ओम पुन, सुमन लिम्बु, किरन पुन, नरबहादुर कार्की लामो समयदेखि निस्क्रिय देखिन्छन्। प्रतिबन्धित नेकपाका कतिपय नेताहरु पहिलैदेखि फेसबुकमै छैनन्। उपत्यका कमाण्ड सम्हालेका प्रज्वल श्रेष्ठ फेसबुकमा निकै सक्रिय देखिन्छन्।

पार्टीनिकट पत्रकारहरूको फेसबुक अकाउन्ट समेत केही समयदेखि निस्क्रिय छ। उनीहरु फोन अफ गरेर अर्धभूमिगत रहेको स्रोतले बतायो। तल्लो तहका कार्यकर्ताले भने सामाजिक सञ्जालमार्फत पार्टीको समर्थनमा विभिन्न गतिविधि जारी राखेका छन्।

सरकारले २०७५ फागुन २९ गते विप्लव समूहका गतिविधिमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि सुरक्षाकर्मीले विप्लवका नेता कार्यकर्ता खोजीखोजी पक्राउ गर्न सुरू गरेको थियो।

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्