बाढीपहिरोले देशभर जनजीवन प्रभावित, अवरुद्ध छन् यी राजमार्ग



काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।

बिहान साढे ८ बजेसम्म प्राप्त विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा सवारी आवागमन पूर्ण तथा आंशिक रूपमा प्रभावित भएको छ।

कोशी प्रदेशमा इलामको राजदुवाली क्षेत्रमा अविरल वर्षापछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, भोजपुरको बोखिममा आएको बाढीले मध्यपहाडी लोकमार्ग प्रभावित बने पनि सडक खुलाउने प्रयासपछि हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

बागमती प्रदेशमा बाढीको जोखिम बढेपछि बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक खण्डमा सवारी साधन सञ्चालन अस्थायी रूपमा रोकिएको छ।

मकवानपुरको इन्द्रसरोवर क्षेत्रमा सडक मर्मत कार्य जारी रहेकाले कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड यो महिनाको २५ गतेसम्म पूर्ण रूपमा बन्द रहने जनाइएको छ। साथै, ललितपुरको पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

गण्डकी प्रदेशमा म्याग्दी जिल्लाको बैसेरी र घुमाउने भिर क्षेत्रमा पहिरो खस्दा बेनी–जोमसोम सडक पूर्ण रूपमा बन्द भएको छ। सडक खुलाउन डोजर परिचालन गरिए पनि वर्षा जारी रहेकाले तत्काल सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको जनाइएको छ।

कर्णाली प्रदेशमा रुकुम पश्चिमस्थित भेरी करिडोरमा बाढीका कारण सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

निरन्तर वर्षा भइरहेकाले थप पहिरो र बाढीको जोखिम कायम रहेको भन्दै सम्बन्धित निकायले अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न तथा यात्रा गर्नै परे सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्