काे थिए सुशील काेइराला ?


 


sushil koiralaसुशील कोइराला एक दशकदेखि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहे। उनी २०६८ असोजमा भएको १२ औं महाधिवेशनमा वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गर्दै पार्टीको सबैभन्दा उच्च पद सभापतिको जिम्मेवारीमा पुगेका हुन्। त्यसअघि कोइरालाले कार्यवाहक सभापति र महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए।

२०३४ सालपछि पार्टीको केन्द्रीय नेतृत्वमा निरन्तर रहेका कोइराला राजतन्त्रविरुद्ध तथा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिए। ११औं महाधिवेशनपछि उपसभापतिको जिम्मेवारी सम्हालेका कोइराला २०६४ असोजमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक एकीकरणसँगै कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि नै कोइरालाले पार्टी महामन्त्रीको जिम्मेवारी सम्हाली सकेका थिए।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरेपछि राजनीतिक यात्रा सुरु भएको हो। राजाको ‘कू’पछि भारत निर्वासनमा रहेका बिपी कोइरालाको सहयोगीका रूपमा उनले राजनीतिक यात्रा प्रारम्भ गरेका हुन्।

खुला राजनीतिमा धेरैपछि प्रवेश गरेका कोइरालालाई समाजका विभिन्न आयामसँग टाढा र खुला राजनीतिक संस्कारलाई अँगाल्न नसकेको आरोप पार्टीभित्रै पनि लाग्ने गरेको थियो। लोकतन्त्रप्रतिको निष्ठा र लगावलाई यिनका विरोधीहरू पनि प्रशंसा गर्छन् भने आलोचकहरूले सानो घेरामा विश्वास गर्ने नेताका रूपमा हेर्ने गर्छन्।

अविवाहित कोइरालाले २०१६ सालअघि नै बनारसमा नृत्य र फोटोग्राफीसम्बन्धी प्रशिक्षण लिएका थिए। कोइराला कोरियोग्राफी सिक्न र हलिउडमा काम गर्न अमेरिका जाने अन्तिम तयारीमा रहेका बेला तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्त गरेको थियो। त्यसपछि बदलिएको घटनाक्रमसँगै उनको राजनीतिक यात्रा सुरू भयो।

कृष्णप्रसाद कोइराला सिन्धुलीको दुम्जाबाट व्यापार गर्न मोरङको रंगेली झरेका थिए। भन्सार ठेक्काको काम थालेका कृष्णप्रसादले आफ्नो व्यापारका लागि आवश्यक काम दारपनि आफ्नै गाउँबाट ल्याएका थिए। सोही क्रममा सुशील परिवारपनि रंगेली झरेका हुन्।

जागिरका क्रममा सुशीलका पिता बोधप्रसाद नेपालगञ्ज पुगेका थिए। लामो समय बोधप्रसाद नेपालगञ्ज बसेका थिए। डीएफओ भएर बोधप्रसाद लामो समय नेपालगञ्ज बसेपछि सुशील उतै बस्न थालेका हुन्। उनको भाइ (अशोक) अहिले पनि बिराटनगरमा नै बस्छन् भने अरुण र विजय नेपालगञ्जमा। अरुण र अशोक दुबै कांग्रेसमा सक्रिय छन्।
बीपी, गिरिजाप्रसाद कोइरालाको भाइका रुपमा सुशीललाई कांग्रेसका नेता तथा कार्यकर्ताले हेर्ने गरेका छन्। सुशीलकी आमा बीपी/जीपीका आमाको बहिनी हुन्।
२०५१ को मध्यावदी र २०६४ मा भएको संविधानसभा निर्वाचनका पराजीत कोइराला २०५८ मा भएको संसदीय दलको निर्वाचनमा शेरबहादुर देउवासँग पराजीत भएका थिए।

कहिले के भए ?

२०३४ सालमा भारतको पटनामा भएको पार्टीको सम्मेलनपछि केन्द्रीय समितिमा मनोनित, २०४८ को झापा महाधिवेशन र २०५९ को केन्द्रीय समिति पुनःगठनमा मनोनित केन्द्रीय सदस्य, २०५३ को काठमाडौं महाधिवेशनमा मध्यपश्चिमबाट केन्द्रीय समितिमा निर्वाचित, २०५५ असोज २० मा उपासभापतमिा मनोनित, २०५६ साउन १० गते महामन्त्री मनोनित, २०५७ को पोखरा महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित, २०५७ जेठ १७ गते महामन्त्रीमा मनोनित, ११औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित, लगत्तै उपसभापतिमा मनोनित, २०६४ असोजमा दुई पार्टी एकीकरणपछि कार्यबाहक सभापति, २०६८ असोज ५ गते सम्पन्न १२औं महाधिवेशनबाट सभापतिमा निर्वाचित। २०७० माघ २७ गते व्यवस्थापिका संसदको वैठकमा दुई तिहाई मत ल्याएर मुलुकको ३७ औं प्रधानमन्त्रीमाका रूपमा चुनिए। नयाँ संविधान जारी गर्न अग्रणी भुमिकामा रहेका कोइरालाको गयराति निधन भएको छ। नागरिकन्युजबाट

प्रकाशित मिति: २६ माघ २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्