काँग्रेसका नेता सिंहले भने : विधि र पद्दतिअनुसार पार्टी चल्न सकेन


 


काठमाडौँ, चैत १६

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विधि र पद्दतिअनुसार पार्टी चल्न नसकेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस टोखा नगरपालिका–११ ले आज यहाँ आयोजना गरेको ‘वडा भेला, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले विधि र पद्दतिअनुसार चल्न नसक्दा पार्टी कमजोर भएको बताउनुभयो ।

“मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको काङ्ग्रेसले आर्थिक विकासको नेतृत्व गर्न सकेन,” उहाँले भन्नुभयो । पार्टीका पूर्व महामन्त्री सिंहले महाधिवेशन भएको तीन वर्षसम्म पनि पार्टीका विभिन्न विभाग गठन हुन नसक्नुले पार्टीलाई झन कमजोर बनाउँदै गएको बताउनुभयो ।

काङ्ग्रेसले इतिहासले मात्र भजाएर हुँदैन भविष्यका लागि सोच्नु जरुरी रहेको उहाँको भनाइ छ । उहाँले विदेशी लगानी भित्र्याउन सरकारले लगानी सम्मेलन गर्नु राम्रो कुरा भए पनि विकास बजेट खर्च हुन नसक्नु दुःखद भएको बताउनुभयो । नेता सिंहले स्थानीय तथा प्रदेश सरकार सञ्चालनका लागि चाहिने आवश्यक ऐन, कानून, नीतिनियम बनाउन ढिला गरेर सरकारले सक्षमताका साथ सरकारको नेतृत्व गर्न नसकेको आरोप लगाउनुभयो ।

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्