चालु अधिवेशनबाटै प्रदेशको नाम र राजधानी : मुख्यमन्त्री राई



विराटनगर, चैत १६

मुख्यमन्त्री शेरधन राईले चालु अधिवेशनबाट प्रदेशको नामाकरण र राजधानीको बिषयको टुंगो लाग्ने दाबी गर्नुभएको छ ।  नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा आज मोरङ शाखाले गरेको पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री राइले भन्नुभयो ’चालु अधिवेशनबाट प्रदेशले नाम र स्थायी राजधानी पाउनेछ ।

त्यसलगतै प्रदेश सरकार बजेट अधिवेशनमा जुट्ने छ ।’ प्रदेशको नाम र स्थायी राजधानी टुंगो लाउन प्रदेश सरकारले काम गरिरहेको उहाँले दाबी छ । उहाँले आगामी भदौ अगावै प्रदेशमा सूचनाको हकसम्बन्धी कानून पनि निर्माण गरिने जानकारी दिनुभयो । कानुन बनेसंगै प्रदेशमा प्रदेश सूचना आयोग गठन गर्ने उहाँको भनाइ थियो ।

सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हकसम्बन्धी कानुन बनाउन प्रदेश एक पहिलो हुनुपर्ने बताउनुभयो । कार्यक्रममा षष्टिका बस्नेत सुचनाको अधिकार पुरस्कार २०७५ बाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले र षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७५ बाट विराटनगरका पत्रकार गणेश लम्साललाई प्रदान गरिएको छ । पुरस्कारको राशी क्रमशः ५१ हजार र ११ हजार छ ।

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्