एसइईको प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन सुरु


 


सप्तरी । प्रदेश २ मा एसइईको प्रश्नपत्र परिक्षा अघि नै बाहिरिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले छानबिन थालेको छ ।

विज्ञान विषयको प्रश्नपत्र सप्तरीबाट बाहिरिएको आशंकामा सीआइबीको टोली पहिलो चरणमा सप्तरी पुगेको हो । डिएसपीको नेतृत्वमा रहेको चार सदस्यीय टोलीले सप्तरीबाट काम सुरु गरिसकेको एसपी राजेन्द्र विष्टले बताउनुभयो ।

अनुसन्धान टोलीले आईटी विशेषज्ञको सहयोग लिएर काम गरिरहेको उहाँले जानकारी दिनुभयो । सिआइबी अनुसन्धानबाट घटनाको सत्यतथ्य खुल्ने प्रहरीको भनाइ छ । लगातर प्रश्नपत्र आउट हुन थालेपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा आजदेखिका सबै विषयको परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

१४ गतेअघि सञ्चालित अंग्रेजी, नेपाली र गणित विषयका परीक्षा भने रद्द गरिएका छैनन् । यसवर्ष प्रदेश २ का २ सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षामा सहभागी छन् । यसैबीच जिल्ला परीक्षा समन्वय समिति सप्तरीले आजै पत्रकार सम्मेलन गरी एसइईको कुनै पनि प्रश्न पत्र सप्तरीबाट आउट नभएको दाबी गरेको छ ।

परीक्षा अघि नै बाहिरिएको हल्ला सुनेपछि प्रहरीले आफ्ना सबै युनिटमा प्रश्नपत्र जाँच गरेको र सबै पोका दुरुस्त फेला परेको सप्तरीका सिडिओ तथा परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पौडेलले दाबी गर्नुभयो ।

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्