चीनसँग दीर्घकालीन ऊर्जा सम्झौता हुन्छ : सञ्चारमन्त्री


 


अाेखलढुंगा, फागुन २

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वर्तमान सरकारले छिमेकी मुलुकसँग सबैभन्दा राम्रो सम्बन्ध स्थापित गर्ने दाबी गरेका छन् । भारतले गरेको अघोषित नाकाबन्दीका कारण आलोचना खेपेको सरकारले छिमेकी मुलुकसँगको सम्बन्ध सुदृढ गर्ने मन्त्री राईले बताए ।

एमाले ओखलढुँगाको अधिवेशन सम्बोधन गर्न शनिबार आईपुगेका राईले आइतबार नेपाल पत्रकार महासंघको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो अभिव्यक्ति दिएका हुन् । ‘यसको सुरुवात अब प्रधानमन्त्रीले गर्ने भारत भ्रमणबाट सुरु हुन्छ’, उनले भने, ‘चीनसँग समेत दीर्घकालीन उर्जा, वाणिज्य र पारवहन सम्झौताको तयारी भईसकेको छ ।’

भारतले गरेको नाकाबन्दीको कारण पनि यसबाट पाठ सिकेर आवश्यक सम्झौता गरि चीन तर्फका नाका खोल्न नेपाल सरकार तयार रहेको बताए । ‘कुनै छिमेकी मुलुकलाई चिढ्याउने हैन । इतिहासमै छिमेकी मुलुकसँग सबैभन्दा राम्रो सम्बन्ध स्थापित गर्न हामी सफल हुनेमा ढुक्क छौँ ।’ उनले अब हुने सन्धी सम्झौता राज्यको हित विपरीत नहुने बताए ।

प्रकाशित मिति: २ फाल्गुन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्