हवाई भाडा घट्याे, कहाँ जाँदा कति भाडा ?


 


काठमाडाैं, फागुन ५

आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा १८ प्रतिशतसम्म घटाएका छन् । घटेको भाडा बिहीबारबाट लागू हुनेछ। नेपाल आयल निगमले ‘एयर टर्बाइन फ्युल’ (हवाई इन्धन) को भाउ प्रतिलिटर १ सय ६४.८८ रुपैयाँबाट ५५.८८ घटाएर १ सय ९ रुपैयाँ कायम गरेपछि आन्तरिक वायुसेवाहरूले हवाई भाडा न्यूनतम १६ दशमलव २६ देखि १८ दशमलव ३१ प्रतिशतसम्म घटाएका हुन् ।

‘हवाई इन्धनको भाउ थपघट हुँदा हवाई भाडा पनि थपघट गर्न पाउने सरकारसँग भएको सम्झौताअनुसार अहिले भाडा घटाएका हौं,’ वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको सदस्य सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले भने, ‘घटेको भाडामा यात्रुले बिहीबारबाट उडान गर्न पाउँछन् ।’

उनका अनुसार काठमाडौंबाट सबैभन्दा नजिक हवाई दुरीको गन्तव्य सिमरा जान अब २ हजार ७ सय ६५ रुपैयाँमात्र लाग्ने छ भने टाढाको धनगढी जान १० हजार ९ सय ९० रुपैयाँ लाग्ने छ । यी भाडा दर सबै करसहित हुन् । बुधरबारसम्म सिमराको भाडा ३ हजार ३ सय ८५ छ भने धनगढीको भाडा १३ हजार १ सय २५ रुपैयाँ छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्