मलेसिया स्वास्थ्य परीक्षण ३ दर्जनको आवेदन


 


काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आव्हान अनुसार वैदेशिक रोजगारका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकरण हुन निजी अस्तपाल र स्वास्थ्य संस्थाहरु उत्साहित देखिएका छन् । मन्त्रालयले गत सोमबार राष्ट्रिय दैनिकमा सूचना जारी गर्दै नेपाल सरकारबाट अनुमति प्राप्त स्वास्थ्य संस्थाहरुलाई सूचीकरण हुन आव्हान गरेको थियो । मन्त्रालयले यस पटक १५ दिनको म्याद दिएर सूचीकरणको समय दिएको छ ।

मन्त्रालयमा बैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न लागि हाल २ सय २६ संस्था सूचीकरण रहेका छन् । २०७२ साल तिर उक्त संख्या ३ सय १० रहेकोमा नवीकरण छुटेपछि संख्या घट्दै गएको मन्त्रालयले बताएको छ । सरकारी सूचना अनुसार मलेसिया जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्न उनीहरु पनि मन्त्रालयमा सूचीकरण हुनुपर्ने छ ।

मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखाका अनुसार विहीवारसम्म यसअघि सूचीकरण नभएका करीव ३ दर्जन नयाँ अस्पतालहरुले सूचीकरणका लागि निवेदन दिएका छन् । निवेदनहरु सबै सातवटै प्रदेश अन्तरगत दर्ता रही सञ्चालनमा रहेका हस्पिटलहरु रहेको मन्त्रालय श्रोतले बतायो । तर केही हस्पिटलको आर्थिक वर्ष २०७४÷०७५को कर चुक्ता कागज नभएका कारण दर्तामा समस्या रहेको दर्ता शाखाका एक कर्मचारीले बताए । शुक्रवार र शनिवार सार्वजनिक बिदाका कारण आवेदनहरु परेनन् ।

उनका अनुसार सूचीकरण हुन चाहने अस्पताल वा स्वास्थ्य संस्थाले सूचना बमोजिमका सबै प्रक्रिया र मापदण्ड पुरा गरेको भएपनि कर चुक्ता पेश नगरे सूचीकरण प्रक्रियामा सहभागी हुन पाउने छैनन् । नेपाल र मलेसियाबीच गत कार्तिक १२ गते भएको श्रम समझदारी बमोजिम मलेसिया जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु छनोट गर्नुपर्ने भएका कारण सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले निवेदन दिंदा वैदेशिक रोजगारमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी मापदण्ड पूरा गर्नसक्ने भनि गरेको स्वघोषणासहितको रीतपूर्वकको निवेदन, वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ क बमोजिम सूचीकरण भइसकेको हुनुपर्ने शर्त राखेको छ ।

केही व्यवसायीहरुले सरकारले तोकेको स्वास्थ्य परीक्षण उपकरण लिन समय लाग्ने तर केवल १५ दिनको भन्दै विरोध जनाएका हुन् । उनीहरुले २०७० सालको स्वास्थ्य संस्थाहरुको मापदण्डले तीन महिना समय दिएको भन्दै यस पटक पनि सोही अनुसारको समय माग गरेका छन् । तर यो मागलाई स्वयम कतियय व्यवसायीहरुले मलेसियाको राजगारी सकेसम्म पछाडी धकेल्ने षडयन्त्रको रुपमा लिएका छन ।

यता, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार नै वैदेशिक रोजगारमा मलेसिया जाँदा स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको मापदण्ड र स्वास्थ्य परीक्षणको सूची सार्वजनिक गरेको छ ।

प्रकाशित मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गाइडलाइन्सका अनुसार रेडियोग्राफी डिपार्टमेन्ट अन्तर्रगत उच्चस्तरको कम्प्युटरयुक्त डिजिटल रेडियोथेरापी मेसिन, एक्सरे रेडियसनको सुरक्षा सहित प्रयाप्त प्रतिक्षास्थल भएको एक्सरे रिपोर्टिङ रुमको व्यवस्था गर्न भनेको छ ।

त्यस्तै प्याथोलोजी डिपार्टमेन्ट अन्तर्रगत, एक सेट माईस्क्रोसकोप, पूर्ण स्वचालित इलिसा रिडर, पूर्ण वा अर्ध स्वचालिच बायो केमेष्ट्री एनालाईजर, कोउल्टर काउन्टर,यूरिन एनालाइजर ईनकुबेटर, डिजीटल बलानी सेन्ट्री फग, हट यएर ओभन, अटोक्लेभ, रेफ्रिरेजेटर लगायत १७ प्रकारका उपकरण व्यवस्था गर्न तोकेको छ ।

त्यसैगरी केमिकल एण्ड रिएजेन्ट अन्तर्रगत मलेसिया, प्रिगनेन्सी टेष्ट, मृगौला, लिभर लगायतका १४ प्रकारका विषय अनिवार्य रुपमा परिक्षण गर्न तोकेको छ ।

त्यसैगरी स्वास्थ्य परिक्षण गर्ने संस्थामा रेडियोलोजिष्ट, प्याथोलोजिष्ट सहित एक जना एमबिबिएस चिकित्सक, मेडिकल ल्याब टेक्नोलोजिष्ट र टेक्निसियन रेडियोग्राफर, प्रशासक, लेखापाल, रिसेप्सनिष्ट बायोमेटिक अपरेटर मेडिकल रेकर्ड किपर लगायत १३ जनाको जनशक्ति राख्नुपर्ने छ । त्यस्तै भौतिक अवस्था पनि सोही प्रकारको तोकिएको छ । नयाँ मापदण्ड अनुसारका उपकरण र जनशक्ति राखेर स्वास्थ्य संस्था स्थापना गर्दा कम्तीमा एक करोड रुपैयाँ लागत आउने व्यवसायीहरुको भनाई छ । यस मापदण्ड अनुसार हाल स्थापना भएका मध्ये केही मेडिकल मात्र यस्ता रहेका छन् ।

प्रकाशित मिति: २४ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्