एमाअाेवादी अध्यक्ष मोहन वैद्य बन्दै !


 


काठमाडाैं, फागुन ७

एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले अब बन्ने माओवादी पार्टीको अध्यक्ष मोहन बैद्य ‘किरण’ हुने बताएका छन् । विभाजित अवस्थामा रहेका माओवादी पार्टीहरुबीच एकताको प्रयास भइरहँदा उनको यस्तो भनाई बाहिर आएको छ ।

प्रवक्ता शर्माले आफ्ना पूर्व उपाध्यक्ष मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग एकीकरणकालागि पहल अन्तिम चरणमा पुगेको बताएका छन् । स्रोतका अनुसार एमाओवादीमा आउनका लागि बैद्यले अध्यक्ष बनाइए आउन सक्ने संकेत गरेका छन् ।

एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले एक पत्रिकासँग सम्वाद गर्दै मोहन बैद्य एकतापछिको माओवादीको अध्यक्ष बन्ने बताए । प्रवक्ता शर्माले एकताको विकल्प नभएको र नयाँ चरणमा युग प्रवेश गरिसकेको हुँदा सबै परिमार्जित भएर एकीकृत हुनेपर्ने बताए ।

उनले मोहन बैद्य किरण अध्यक्ष भए कुनै अप्ठेरो नपर्ने बताए । उनले भने,‘हिँजो उहाँकै नेतृत्वमा हामी थियौँ । उहाँ पनि हाम्रै अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा हुनुहुन्थ्यो ।

आज नेपालमा भएका माओवादीहरु एक भएर हाम्रा बाँकी क्रान्ति पूरा हुन्छ भने हामीले थोरबहूत त्याग गर्न सकिन्छ । एकीकरणका लागि प्रस्तावित सहमतिअनुसार अब एकीकृत माआवादीका अध्यक्ष मोहन बैद्य किरण हुनुहुनेछ ।’

उनले देश समाजवाद उन्मुख भएकाले नयाँ संविधानको प्रस्तावनाले किटान गरे अनुरुप समाजवाद उन्मुख अर्थतन्त्रको विकास र राजनीति विकासमा जोड दिनुपर्ने बताए । राष्ट्र समाजवादी क्रान्तिको चरणमा पुगिसकेको र मूलभूत रुपमा समाजवादी क्रान्तिको एउटा चरण पूरा भएकोसमेत बताए ।

प्रकाशित मिति: ७ फाल्गुन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्