झापामा अनुमति बिना नै विद्यालय सञ्चालन


 


झापा । झापाका केही विद्यालयले स्थानान्तरणको अनुमति बिना नै विद्यालय सञ्चालनमा आएका छन् । मेचीनगर नगरपालिका–४ स्थित बालजगत इङ्लिस स्कुलले ३ नम्बर वडाबाट सञ्चालनमा ल्याएको छ ।

एउटा वडादेखि अर्को वडामा सार्दा स्थानान्तरणको कागजात बनाएर मात्रै सार्ने प्रावधान भए पनि उक्त स्कुलले प्रक्रिया पूरा नगरेको पाइएको छ । सामुदायिक र संस्थागत निजी विद्यालयहरूको सहमति–पत्र पेश गरिसकेपछि मात्र वडाले सहमति दिनसक्ने कानूनी प्रावधान भएपनि नियम पालना गरेका छैनन ।

त्यस्तै बिर्तामोड नगरपालिकाबाट बसाइ सराइ सहमति–पत्र लिएर आएको एमइटी पब्लिक इङ्लिस स्कुललाई मेचीनगर वडानम्बर ६ मा सञ्चालन गर्न नगरपालिकाले अनुमति दिएको छैन । तर पनि विद्यालयका सञ्चालकहरूले न्यूनतम् कानूनी प्रक्रिया पूरा नगरी नै विद्यालय सञ्चालनमा ल्याएका छन् । अहिले भर्ना अभियान थालिएको छ । बिर्तामोड नगरपालिकाबाट बसाइ सरी आएको लालीगुराँस इङ्लिस स्कुललाई पनि वडा नं. ८ ले सहमति–पत्र नदिई नै भर्ना अभियान थालेको छ ।

मेचीनगर नगरपालिका शिक्षा शाखाका स्रोतव्यक्ति लोकबहादुर दाहालले अन्यत्रबाट मेचीनगर क्षेत्रमा आएका विद्यालयहरूलाई अनुमति नदिएको बताउनुहुन्छ । पछिल्लो समय मेचीनगरमा विद्यालयहरू स्थानान्तरण हुने क्रम बढ्दो रहेको उहाको भनाइ छ ।

प्रकाशित मिति: ३० चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्