ओली सरकारले जनताको अधिकार खोस्न खोज्यो ? अब सडक आन्दोलन गर्छौं – देउवा


 


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाएका छन् । कांग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज आयोजना गरेको नयाँ बर्ष २०७६ सालको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर सरकारले काम गरिरहेको बताए ।

‘सेना परिचालन गर्ने अधिकार र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत राखेर वर्तमान सरकारले शासन गर्न खोजेकाले यसविरुद्ध कांग्रेस जाग्नुपर्ने बेला आएको छ, ‘उनले भने । निर्मला पन्तको हत्यारालाई वर्तमान सरकारले संरक्षण गर्न खोजेको सभापति देउवाको भनाइ छ ।

पार्टीभित्र अनुशासन हराउँदै गएको छ तर अब अनुशासनविरुद्ध काम गर्ने जो कोहीलाई कारवाही गरिनेमा जोड दिँदै उनले घरघर गएर पार्टीको सङ्गठन विस्तार गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए । पार्टीका महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसले आफ्नो शक्ति निर्वाचनमा परिचालन गर्न नसक्दा पराजय भोग्नुपरेको बताए ।

‘पार्टीभित्रको गुठ उपगुठ अन्त्य गरेर यसलाई एकताबद्ध नगरेसम्म कांग्रेस पहिलो पार्टी बन्न सक्दैन, वर्तमान सरकार संघीयतामा विश्वास गर्दैन विश्वास गर्ने भए प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपथ्र्यो, ‘महामन्त्री कोइरालाले भने ।

त्यस्तै सहमहामन्त्री डा. प्रकाशशरण महतले पनि आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीको सङ्गठन विस्तारमा लाग्नुपर्ने बेला आएको बताए । कांग्रेस आफ्नै पार्टीका साथीका कारण निर्वाचनमा पराजय भएको उनको भनाइ थियो ।

केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले पार्टीलाई सामूहिक भावनाका साथ अगाडि बढाउनुपर्ने अवस्था आएको बताए । राष्ट्रियसभा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेएका उनले कांग्रेसले संसद्भित्र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नाका साथै संसदमार्फत सरकारले गरेका गलत क्रियाकलापको खबरदारी गरिरहेको बताए ।

सोही क्रममा केन्द्रीय सदस्य नरहरि आचार्यले पार्टीभित्रको कार्यशैलीमा जागरण अभियान ल्याउनु जरुरी रहेको बताए । ‘जागरण अभियानलाई स्पष्ट ढङ्गले अगाडि नबढाएसम्म पार्टी बलियो हुन सक्दैन, ‘उनले भने । कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई र उक्त दलका जिल्लासभापति कृष्ण (सबुज) बानियाँले पार्टी एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्