दक्षिणाको लोभमा ज्योतिषिहरु बकवास गर्दैछन्: प्रधानमन्त्री ओली


 


बुटवल । दक्षिणाको लोभमा प्रयोग भएर ज्योतिषिहरुले बकवास गर्दै हिँडेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेका छन् । जितगढीमा शनिबार आयोजित विजयोत्सव समारोहमा प्रधानमन्त्री ओलीले भने, ‘जनतामा जान छाडेर कतिपय दक्षिणावाला ज्योतिषीलाई उचाल्दै यसो भन्दिनुपर्‍यो भन्न थालेका छन् तर, कोही भ्रममा पर्ने छैन ।

‘असार लागेपछि के हुन्छ, पानी पर्छ ।’ उनले राप्रपातर्फ संकेत गर्दै उनले कतिपयले भने धर्मका नाममा राजनीतिलाई अल्मल्याउन खोजेको बताएका छन् । त्यस्तै ‘उपद्रो गर्नुलाई केहीले क्रान्ति ठानेका छन्’ नेकपा विप्लव समूहतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संविधानविरोधी र अपराधपूर्ण क्रियाकलाप समेत भइरहेका छन्, त्यस्ताको वहकावमा नलाग्न म आग्रह गर्छु ।’

मुलुकले सुशासन र विकासको बाटो समातेको भन्दै उनले अब अल्मलिन नसकिने बताए । नेपाल दुनियाँको गरीब देश हो भन्ने पहिचान बदल्ने आफ्नो अभिष्ट रहेको भन्दै ओलीले समृद्ध नेपाल सुखी नेपाली नारा त्यत्तिकै अघि नसारिएको बताए । समारोहमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जितगढी जस्तै नेपालले युद्ध जितेका स्थानहरुको संरक्षण र विकास गर्ने अभियान जितगढीबाट शुरु भएको बताए ।

कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खांण, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी लगायतले जितगढीलाई ऐतिहासिक सम्पदा स्थल र पर्यटकीय स्थलका रुपमा विकास गर्न संघ ,प्रदेश र स्थानीय सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्