स्थानीय सरकार होस् त मोरङको मिक्लाजुङ जस्तो ! विपन्नको घरमै पुगेर नगद र जिन्सी सहयोग


 


मधुमल्ला, बैशाख ७

मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ६ का ७० वर्षिय अति विपन्न परिवारका मानबहादुर मगरको परिवारलाई आज मिक्लाजुङ गाउँपालिकाको टिम नै पुगेर नगद तथा जिन्सी सहयोग हस्तान्तरण गरेको छ ।

साथै दुई महिनादेखि झाडापखाला लागेर बिरामी भई बसेका करिब ४० बर्षिय मानबहादुरका छोरा रत्नबहादुर मगरलाई गाउँपालिकाको समन्वयमा बिराट नर्सीङ होमले निशुल्क उपचार गराई दिने भएको छ । आज मनबहादुरको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरिएको मिक्लाजुङ गाउँपालिकाका वडा नं. ६ का वडाध्यक्ष बृद्धिलाल निरौलाले बताउनुभयो ।

रत्नबहादुरको परिवारलाई गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्य, उपाध्यक्ष सरला राई, वडाध्यक्षहरु बुद्धिलाल निरौला, शुशिलराज चौहान, नगिन्द्र कार्की, प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरी, शिक्षा अधिकृत काँशिनाथ खनाल, स्वास्थ्य संयोजक चिन्तामणी प्रोख्रेल, कृषि अधिकृत मोहन मिश्रले जनही एक /एक हजारका दरले र समाजसेवीहरु नरेन्द्रप्रसाद ढुङ्गेलले एक हजार र डिल्ली खतिवडाले पाँच सय, व्यवसायीहरु दिनेश पौडेलले रु.२ हजार, रुद्र भण्डारी, इन्द्र श्रेष्ठले एक /एक हजार र महाप्रसाद खड्काले पाँचसय सहयोग संकलन गरी कुल १५ हजार एक सय १० रुपैयाँ गाउँपालिकाका उपाध्यक्ष सरला राईले विपन्न परिवारलाई हस्तान्तरण गर्नु भएको थियो ।

गाउँपालिकाले नगद पाँच हजार बढीको चामल, नुन तेल, साबुन लगायत आवश्यकीय समग्रीहरु हस्तान्तरण गरेको छ ।  सहयोग हस्तान्तरण कायक्रमलाई सम्बोधन गर्दै विपन्न परिवारको घर समेत निमार्ण गर्ने गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताउनु भयो । आचार्यले भन्नुभयो– “अबको केही महिना भित्रमा नै घर निमार्ण गरी परिवारलाई हस्तान्तरण हुनेछ ।”

उक्त घर निर्माणका लागि बि.एफ.ओ. र मिक्लाजुङ कन्स्ट्रक्सनले निशुल्क बालुवा, गिट्टी र पुराई गर्ने, युवा व्यवसायी इन्द्रकुमार श्रेष्ठले आवश्यक ढुङ्गा र अन्य बाँकी रड, सिमेन्ट, जस्ता लगायतका अन्य सामग्रीहरु गाउँपालिकाले उपलब्ध गराई २–३ कोठाको पक्की घर निर्माण गरिने र उक्त राहत वितरण कार्यक्रमको संयोजन मिक्लाजुङ गाउँपालिकाको सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक तथा मिक्लाजुङ गाउँपालिकाका प्रवक्ता नगिन्द्र कार्की (नवीन) ले बताउनु भयो ।

प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्