‘तत्काल ओली सरकार ढालेर प्रचण्ड प्रधानमन्त्री बनाउने तयारी छैन’- रायमाझी


 


काठमाडौं बैशाख ८
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले यही वैशाख ९ गते पार्टीको तल्लो तहको एकता सम्पन्न हुने घोषणा गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने,“एकता प्रक्रिया अलिकति ढिला भएकै हो । ढिला हुनुपनि स्वभाविक नै हो । दुई ठूला भिन्न भिन्न पार्टी मिल्ने कुरा सजिलो थिएन् । हामीले एकताको अत्यधिक काम पूरा गरिसकेका छौं । अब जनवर्गीय र स्थानीय तहको हकमा नेतृत्व टुँगो लगाउने काम बाँकी छ । त्यो पनि टुँगो लगाउनेगरि शीर्ष तहमा गम्भिरतापूर्वक छलफल भैरहेको छ ।”

नेता रायमाझीले यही बैशाख ९ गते नै एकताको सम्पूर्ण काम सम्पन्न भएको घोषणा हुने विश्वास दिलाए । रायमाझीले सरकारले विकास र समृद्धिको हकमा पहिलो वर्ष जग हाल्ने काम गरेको र आगामी दिनमा जनताले अनुभुति गर्नेगरि विकास गर्ने दाबी गरे । उनले भने, “जनताका अपेक्षाहरु धेरै छन् । सरकारले काम गरिरहेको छ । यो सरकार पूरानो संरचनाको सरकार होईन । सरकारले राष्ट्र निर्माणको ठूलो बहस छेडेको छ । भाषण र सपना देख्नु नराम्रो होईन । यो त बुझाउने कुरा हो । यो त अभ्यासपनि हो । यो अर्थमा सरकार काफी मात्रामा सफल भएको छ ।”

नेता रायमाझीले वर्तमान सरकारले हिजोसम्म व्याप्त रहेका माफियागिरी, अपराधिक घट्नाक्रमहरुको पर्दाफास भएको जिकिर गरे । उनले भने,“यी सबै गलत कुरालाई सतहमा ल्याउन वर्तमान सरकार सफल भएको छ । हिजोसम्म यी विषयहरुमा ढाकछोप गर्ने काम भएका थिए । तर, यो सरकारले अहिले सतहमा ल्याएको छ । अब जनताको चाहनाबमोजिम कारबाही हुन्छ । सरकारले उपचार गर्छ ।”

फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अहिले तत्काल नखोजिएको जिकिर गरे । उनले भने, “तत्कालै प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना छैन । प्रधानमन्त्री ओलीको अहिले विकल्प कोही छैन् । यो सरकार ढाल्ने र अर्को बनाउने भन्ने अहिले कुनै सोच वा गृहकार्य भएको छैन ।”

प्रकाशित मिति: ८ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्