प्रधानमन्त्रीकाे चीन भ्रमणमा काे-काे जाँदैछन् ?


 


काठमाडाैं, चैत्र ७

प्रधानमन्त्री केपी शर्मा ओली आजबाट छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणमा जाँदैछन् । भारत भ्रमणको एक महिनापछि प्रधानमन्त्री ओली सातदिने चीनको भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्रीको भ्रमण टोली व्यपारीसमेत गरी झन्डै एक सय सदस्यिय रहेको छ । जसमध्ये ३४ जना उद्योगी-व्यवसायी छन् ।

भ्रमण टोलीमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्री पत्नी राधिका शाक्य , प्रधानमन्त्रीका मुख्य सल्लाहका विष्णु रिमाल सांसदहरु मुख्यसचिव र विभिन्न मन्त्रालयका सचिवहरु चीन भ्रमणको टोलीमा रहेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । चैत ८ गते आफ्ना समकक्षी लीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । औपचारिक वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा दुबै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्नेछन् । प्रधानमन्त्री लीले प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् ।

प्रधानमन्त्रीले चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष यु झेङसेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले रेनमिन विश्वविद्यालयमा विद्वत्वर्ग, प्राज्ञ र व्यापारी वर्गको उपस्थितिमा आयोजना हुने बेल्ट एण्ड रोड इनिसिएटिभ्स’ सन्दर्भमा नेपाल-चीन सम्बन्ध विषयक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । साङ्घाइ सहयोग सङ्गठन (एससीओ) को संवाद साझेदारी प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्री ओली चीनका लागि नेपाली राजदूत डा महेश मास्केले ९ नेपाली दूतावासमा आयोजना हुने स्वागत भोजमा सहभागी हुनेछन् । साथै सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीले हेनान प्रान्तको बोआओमा आयोजना हुने एसियाका लागि बोआओ मञ्चको ँएसियाको नयाँ भविष्यः नवीन आयाम, नवीन दृष्टिकोण’ विषयक सम्मेलनलाई चैत ११ गते सम्बोधन गर्नेछन् । सोही दिन अपराह्न सान्याको नान्सान उद्यानस्थित नेपाल मण्डपको भ्रमण गर्नुहुने कार्यक्रम छ । सिचुवानको छेन्दु र सान्सी प्रान्तको सियानमा उहाँले प्रान्तीय एवम् नगरपालिकाका नेताहरूलाई भेट्नुका साथै व्यापारी समुदायलाई सम्बोधन गर्नेछन् ।

भ्रमणको सिलसिलामा प्रधानमन्त्रीले ओलीले सिचुवान प्रान्तमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको पुनर्निर्माण र जलविद्युत् अयोजनाको अवलोकन गर्नेछन् ।

प्रकाशित मिति: ७ चैत्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्