स्थानीयको दबाबपछि टुसालदेखि बौद्ध गेटसम्म कालोपत्रे


 


काठमाडौं : सडक कालोपत्रेको माग राख्दै बिहीबार बिहानैबाट आन्दोलनरत बौद्ध जोरपाटीका स्थानीय र सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीबीच सम्झौता भएको छ । सडक निर्माणको जिम्मा लिएका युनाइटेड विल्डर्सका प्रमुख शकुन्तला लाल हिराचनले आन्दोलनरत पक्षसँग बिहीबार बेलुकी सम्झौता गरेका हुन् ।

समझौता पत्रमा काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, बौद्ध व्यापार संघका अध्यक्ष दिपकप्रसाद चौलागाई, स्थानीय बासिन्दा तथा व्यापारी र टुसाल युवा क्लवका प्रतिनिधिहरुले ठेकदार कम्पनीसँग सम्झौता गरेका हुन् ।

दुबै पक्षबीच टुसालदेखि बौद्ध गेटसम्मको बाटो आगामी आइतबारदेखि कालोपत्रे गर्न सुरु गरिने भएको छ । सम्झौता अनुसार ठेकेदार कम्पनीले बिहीबारबाटै कालोपत्रे गर्नुपूर्ब गरिने काम गर्नका लागि रोलर लगाउने, सबबेस, बेस सम्बन्धि कामहरु सुरु गर्ने छ ।

यस्तै शुक्रबारबाट बौद्ध जोरपाटीसम्मको बाटोमा कालोपत्रे गर्नुपूर्ब गरिने सबबेस, बेस, साइट ड्रेन निर्माण सुरु गर्ने सहमति भएको छ । ठेकेदार कम्पनीले सडक निर्माणका क्रममा बिग्रेका धारा, ढल, साइट ड्रेन लगायतका संरचनाहरु मर्मत सम्भार गर्ने पनि सहमति गरेको छ ।

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्