देशैभर बढ्यो गर्मी, नेपालगन्जको तापक्रम ४३ डिग्री


 


काठमाडौं केही दिनयता प्री मनसुन गतिविधि कमजोर भएपछि मुलुकका अधिकांश भेगमा गर्मी बढेको छ । सोही कारणले विहिवार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ ।

विहीवार नेपालगञ्जको अधिकतम तापक्रम ४३ डिग्री मापन भएको छ भने धनगढी र दिपायलको अधिकतम तापक्रम ४० डिग्री भन्दा माथि छ । धनगढीको तापक्रम ४२ दशमलव ४ र दिपायलको तापक्रम ४० दशमलव ३ डिग्री मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधवार नेपालगञ्जको तापक्रम ४२ दशमलव २ डिग्री थियो भने धनगढीको ४२ दशमलव १ र दिपायलको ३९ दशमलव ४ डिग्री थियो । विरेन्द्रनगर, दाङ, भैरहवा, सिमरा सहित मध्य र पश्चिम तराईमा पनि गर्मी बढेको महाशाखाले जनाएको छ ।

विहीवार विरेन्द्रनगरको तापक्रम ३७ दशमलव ७, भैरहवा ३८ दशमलव ३, दाङ ३७ दशमलव ६ र सिमरामा ३६ दशमलव ५ डिग्री तापक्रम रेकर्ड भएको छ ।
केही दिनयता काठमाडौं, पोखरा, विराटनगर, धरान, जनकपुर र आसपासका भेगको तापक्रम पनि ३० डिग्री भन्दा माथि नै छ । मुलुकको पूर्वी तराईको तुलनामा मध्य र पश्चिम तराईका भू–भागमा गर्मी बढेको बताउँदै महाशाखाका मौसमविद् बरुण पौडेलले भन्नुभयो–‘प्री मनसुन केही निस्कृय भएपछि जलवाष्पयुक्त वायु भित्रिन पाएको छैन, त्यसैले गर्मी बढेको हो ।’

यसवर्ष काठमाडौं उपत्यकामा गत १८ गते (मे १ तारिखमा) वर्षकै सबै भन्दा बढी गर्मी महशुस गरिएको थियो । सो दिन उपत्यकाको तापक्रम ३२ दशमलव ५ डिग्री मापन भएको थियो भने विहीवार ३१ दशमलव ३ डिग्री मापन भएको छ ।

उपत्यकामा सन् १९८९ मे ७ तारिखमा अहिलेसम्मकै सबैभन्दा बढी गर्मी भएको थियो । सो दिन उपत्यकाको तापक्रम ३६ डिग्री रेकर्ड भएको महाशाखाको अभिलेख छ । मुलुककै सबै भन्दा बढी गर्मी भने नेपालगञ्जमा सन् १९९६ मे २५ तारिखमा महसुस गरिएको र सो बेलाको तापक्रम ४४ दशमलव ३ डिग्री रेकर्ड भएको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुका कारण आज शुक्रवार र भोली शनिवार अरव सागरको जलवाष्पयुक्त हावा भित्रिने भएकाले तापक्रम केही घट्ने मौसमविद् पौडेलले बताउनुभयो । ‘शुक्रवार र शनिवार केही शितल महशुस हुन सक्छ तर तत्काल प्री मनसुन सक्रिय हुने मौसमी प्रणाली भने विकास भएको छैन’–उहाँले भन्नुभयो ।

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्