वाइडबडी र बालुवाटार जग्गा प्रकरणमा देउवालाई कारबाही गर्न तयार छौ : नेता पौडेल


 


उदयपुर,बैशाख २७

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस आबद्ध जुनसुकै तहका र जोसुकै नेताहरू पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारबाही गरिने बताउनु भएको छ ।

प्रेस युनियन उदयपुरले आज बिहान उदयपुरको सदरमुकाम गाईघाटस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले यस्तो धारणा व्यक्त गर्नु भएको हो । पार्टी कामको सिलसिलामा उदयपुर आईपुग्नुभएका नेता पौडेलले अहिले बालुवाटारको जग्गा काण्ड, एनसेलको काण्ड र वाइडबडी काण्डमा विभिन्न पार्टीका नेताहरूको नाम जोडिएको र त्यसमा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको समेत नाम जोडिएकोले यदि पुष्टि भए आफूहरू पार्टी सभापति देउवालाई समेत कारबाही गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

उहाँले वर्तमान सरकारले राम्रो काम गर्ने अवसर पाइरहेको भएता पनि नेपाली जनताले सोचेजस्तो काम गर्न नसकेको धारणा व्यक्त गर्नुभयो । नेता पौडेलले अहिले सत्ता पक्ष र विपक्षीबीच वाकयुद्ध चलिरहेको र यस्तो वाकयुद्धले प्रजातन्त्र र संघीयतालाई बलियो नबनाउने भन्दै सरकार पक्ष र विपक्षी दुवैले बोल्दा संयम भएर शिष्ट तरिकाले संसदीय मर्यादामा रहेर बोल्न सिक्नुपर्ने सुझाब दिनुभयो ।

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्