अब अति भयो फेसबुक ! सहसंस्थापक भन्छन् – बाई–बाई भन्‍ने बेला आयो



एजेन्सी । फेसबुकको विरोध गर्नेहरुको पंक्तिमा यसकै सहसंस्थापक पनि थपिएका छन्। फेसबुकका सहसंस्थापक तथा मार्क जुकरवर्गका सहपाठी क्रिस ह्युसले फेसबुकलाई बाई–बाई भन्‍ने बेला आएको बताएका हुन्।

फेसबुक लोकतन्त्र र विश्व अर्थतन्त्रकै लागि चुनौतीपूर्ण बन्दै गएको उनको तर्क छ। न्यूयोर्क टाइम्समा लेख लेख्दै उनले जुकरवर्ग र फेसबुकलाई नियमन गर्ने काम सरकारकै लागि पनि पेचिलो भएको बताएका छन्। उनले ह्वाट्स् एप र इन्स्टाग्राममाथि फेसबुककै स्वामित्व भएकाले सामाजिक संजालबीच राम्ररी प्रतिस्पर्धा हुन नसकेको जिकिर गरेका छन्।

ह्युसले भनेका छन्, ‘जुकरवर्गको नियत गलत नहुनसक्छ, तर उनले प्राप्त गरेको शक्ति अभूतपूर्व र समाजका लागि अहितकर छ।’ ‘केही सामान्य नियमहरुले फेसबुक डराउनेवाला छैन’, उनी भन्छन्, ‘बरु आफूप्रति अविश्वास बढ्छ। सरकारले जवाफदेही हुन बाध्य बनाउँछ कि भन्ने कुराले ऊ ज्यादा डराउँछ।’ त्यसो त फेसबुक अहिले लगातार एकपछि अर्को विवादमा फस्दै गएको छ।

व्यक्तिगत तथ्यांक अपचलनका मुद्दा निरन्तर बहसमा छन्। ह्युस ती आरोप सत्यको नजिक भएको बताउँछन्। ‘१५ वर्षअघि हार्वर्डमा रहँदा हामीले फेसबुक बनाएका थियौं, मैले नै फेसबुक छाडेको एक दशक भयो’, उनी भन्छन्, ‘तर आज मभित्र एक किसिमको रिस पैदा भएको छ। किनभने यस्तो अवस्था पैदा हुनुमा म पनि जिम्मेवार छु।’ सके आफ्ना प्रतिस्पर्धीहरुलाई किन्‍ने, नसके नक्कल गर्ने वा अवरोध खडा गर्ने फेसबुक नीतिको ह्‍युसले निन्दा गरेका छन्।

इन्स्टाग्राम र ह्वाट्समाथि फेसबुकको स्वामित्व हुनेगरी ‘डिल’ हुन दिएर सरकारले ठूलो गल्ती गरेको उनको भनाई छ। ‘फेसबुकले ती तीनवटै प्रोडक्टका मेसेजिङ सिस्टमलाई एकाकार गर्ने घोषणा गरिसकेको अवस्थामा सरकारलाई गल्ती सच्याउन सजिलो छैन’, लेखमा भनिएको छ। फेरि पनि सरकार र उसले उठाउने कदम नै समाधानको एकमात्र उपाय भएकोमा उनको जोड छ।

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्