यस्ता पनि बाबु : जसले पत्‍नीको रिसमा १० महिने छोरीलाई ज्यूँदै जलाए


 


दार्चुला : १० महिने छोरीलाई खरको कुन्युमा राखेर जलाउने दार्चुलाका एक दम्पत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दार्चुलाको ब्यास गाउँपालिका–५ चुकपानीका बुबा नवीन बिष्ट र आमा शिला बिष्टलाई छोरीलाई जलाएर मारेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । बिहीवार राति दम्पत्तिबीच सामान्य भनाभन भएपछि बुवा नवीनले छोरीलाई खरको कुन्युमा राखेर बाहिरबाट आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकृत प्रहरी निरीक्षक हिक्मत बोहराले बताए ।

बिहीवार राति करिब साढे ११ बजेतिर छोरीलाई जलाउने बुवा नवीन र आमा शिला भाग्न लागेको अवस्थामा स्थानीयको सहयोगमा प्रहरी चौकी धौलाकोटबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । आमा शिलाले उनकी दिदीलाई दुई तीन महिला अगाडि दिएको सुनको विषयमा दुबैबीच भनाभन भएको खुलेको छ। त्यही रिसमा छोरीलाई जलाएको नवीनले स्वीकारेको दार्चुला प्रहरी प्रवक्ता बोहराले बताए ।

बुवाले अपराध स्वीकार गरिसकेकाले अपराधसंहिता अनुसार कारवाही हुने र आमाको कसुर हेरी कारवाहीका लागि सिफारिस हुने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेकाले अनुसन्धानपछि मात्रै थप कुरा भन्न सकिने प्रहरीले जनाएको छ । खरको कुन्युमा आगो लागेको देखेपछि स्थानीय घटना स्थलमा पुगेका थिए। घटनास्थलमा पुगेपछि १० महिने छोरी अनुष्कालाई जलाइएको थाहा भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्