नेपाल शरणार्थीको केन्द्र बन्दै, म्यानमारदेखि अफ्रिकासम्मका


 


काठमाडौं : नेपालको भिसा नीति उदार छ, सिमाना खुला छ । यही कमजोरीको फाइदा उठाउँदै अवैध शरणार्थी बढ्दै छन् । वर्षौँदेखि बस्दै आएका भुटानी र तिब्बतीबाहेक म्यानमारदेखि अफ्रिकासम्म १० देशका एक हजारभन्दा बढी अवैध शरणार्थी नेपालमा जम्मा भइसकेका छन् ।

कतिले तेस्रो मुलुक छिर्न नेपाललाई ट्रान्जिट बनाएका छन्, धेरैले पासपोर्ट नै फालेर स्थायी बसोवासको थलोजस्तो मानेका छन् । त्यसो त शरणार्थीसम्बन्धी नेपालको न कुनै कानुन छ, न त अन्तर्राष्ट्रिय महासन्धि–१९५१ मै हस्ताक्षर गरेको छ । अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर नगरेका कारण नेपाल कुनै पनि देशका नागरिकलाई शरणार्थी स्वीकार गर्न बाध्य छैन ।

नेपालमा हाल ६ हजार पाँच सय १८ भुटानी शरणार्थी छन् । उनीहरू झापा र मोरङका शिविरमा बस्दै आएका छन् । १९ जना भने शिविरबाहिर बस्दै आएको गृह मन्त्रालयको तथ्यांक रहेको समाचार नयाँ पत्रिका दैनिकमा छ । नेपालमा ६० वर्षदेखि तिब्बती शरणार्थी बस्दै आएका छन् । तिब्बती शरणार्थीकै कारण नेपाल अन्तर्राष्ट्रिय चासोको केन्द्र बन्दै आएको छ । इरान, इराक, म्यानमार, बंगलादेश, सोमालिया, पाकिस्तान, कंगो, अफगानिस्तान र श्रीलंकाका नागरिक शरणार्थीका रूपमा बस्दै आएका छन् । यसमध्ये सबैभन्दा धेरै पाकिस्तानी छन् । कतिपय पाकिस्तानी १० वर्षअघिदेखि छन् ।

प्रकाशित मिति: २८ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्