ओली सरकारको निर्णय अनुसार सेनाले बनाउन थाल्यो बाराका हुरीपीडितको घर



काठमाडौं । नेपाली सेनाले गत चैत १७ गते आएको हुरीबाट उठीबास लागेका बाराका स्थानीयको घर बनाइदिन थालेको छ। बाराको परवानीपुर गाउँपालिका वडा नम्बर–४ स्थित चैनपुरमा हुरीले क्षति पु¥याएका २१५ घरमध्ये पहिलो चरणमा ९३ घरको निर्माण सेनाले थालेको हो ।

चैनपुरका २१५ घरको निर्माणका लागि वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणका सेनानी हरिकुमार पाण्डेको कमाण्डमा ४५० जना सेनाको टोली खटिएको छ । सेनाको टोलीले चैनपुरमै अस्थायी क्याम्प बनाएर हुरीपीडितको घर निर्माणलाई तीब्रता दिएको हो ।

‘हामीले यहाँका हुरीपीडितको घर निर्माणलाई अघि बढाएका छौँ’, सेनानी पाण्डेले भने, ‘तीन चरणमा यहाँका घर निर्माण सक्ने योजनामा छौँ।’ पाण्डेका अनुसार एक एक महिनाको दरले तीन महिनामा सबै २१५ वटा नै घर बनाउने तयारी थालिएको छ। वैशाख २१ गते उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहितको टोली बारामा पुगेर घर निर्माणको शिलान्यास गरेका थिए ।

चैत १७ गतेको हुरीले बाराको फेटा र परवानीपुर गाउँपालिकासहितमा ठुलो क्षति पुर्‍याएको थियो । बारा र छिमेकी जिल्ला पर्सामा समेत गएको हुरीले २७ जनाको ज्यान लिएको थियो ।

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्