युवा विदेश पठाउन भाषा सिकाउँदै सुदूरपश्चिम सरकार


 


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री निर्वाचन भएपछि युवाले रोजगारीका लागि विदेश जानु नपर्ने र स्वदेशमै रोजगारी दिने बताएका थिए ।

तर अहिले जनता ठगिएका छन् । अब उनकै नेतृत्वको सरकारले युवालाई विदेश पठाउने कार्यक्रम ल्याएको छ । यसरी मुख्यमन्त्री त्रिलोचन भट्टको जनता ठग्ने हर्कतको पर्दाफास भएको छ ।

बेरोजगार युवालाई विदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ । प्रदेशका नौवटै जिल्लाका तीन सय २० युवालाई वैदेशिक रोजगारीमा पठाउन जापानी, कोरियन र अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको हो ।

सामाजिक विकास मन्त्रालयले तीनमहिने भाषा कक्षा सञ्चालनका लागि धनगढीस्थित स्टार प्रालिसँग ३५ लाख २६ हजार पाँच सय रुपैयाँमा सम्झौता गरिसकेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा भने युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

‘केही दिनमै भाषा कक्षा सुरु हुन्छन् । प्रदेश सरकारको रातो किताबमा समावेश कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो,’ मन्त्रालयका सचिव गोगनबहादुर हमालले भने । बजेटमा समावेश गरिएका स्वरोजगार बन्न टेवा र्पुयाउने कार्यक्रम भने आर्थिक वर्ष सकिनै लाग्दा पनि कार्यान्वयनमा जान सकेका छैनन् ।

युवाको आपत्ति

रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने कार्यक्रम सञ्चालन गर्नुको साटो विदेश पठाउन प्रोत्साहन गर्नु दुःखद भएको भन्दै युवाका पक्षमा काम गर्ने संघसंस्थाका प्रतिनिधिले भने आपत्ति जनाएका छन् । ‘श्रम गर्न सक्ने सबै विदेश गए समृद्धि कसरी हासिल हुन्छ रु’ युवा शान्ति परिषद् कैलालीका संयोजक प्रेम ढुंगानाले भने, ‘रेमिट्यान्सले मात्र देश चल्न सक्दैन, त्यसैले युवाहरूको श्रम देश विकासमा लगाउने वातावरण सरकारले निर्माण गर्नुपर्छ ।’

त्रिलोचन भट्टले मुख्यमन्त्रीको शपथग्रहणपछि सुदूरपश्चिमका युवा रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए । ‘अब भारतमा चौकीदारी गर्न जाने अवस्था अन्त्य हुन्छ’ भन्ने उनको भनाइले त्यतिवेला खुब चर्चा पाएको थियो । उनी स्वयं कुनै समय भारतमा चौकीदारी गर्थे ।

नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष शंकर बोगटीले उद्योगको विकास र स्वरोजगार सिर्जना गर्ने कार्यक्रम सरकारले गर्न नसकेको बताए । युवाहरूलाई विदेश पठाउन उत्प्रेरित गर्नुभन्दा सीप सिकाएर स्वरोजगार बनाउनुपर्ने उनको सुझाव छ ।

‘युवालाई विदेश जान प्रोत्साहन गर्ने प्रदेश सरकारको योजनाले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई नै व्यंग्य गरेको छ,’ उनले भने । देशमै होटेल, उद्योग, सडक कालोपत्रेलगायत क्षेत्रमा कामदारको अभाव रहेकाले पूर्तिका लागि बेरोजगार युवालाई सीपमूलक तालिम दिनुपर्नेमा जोड दिए । ‘पहिले यहीँ रोजगारीका अवसर सिर्जना गर्नुपर्‍यो । विदेश नै पठाउने हो भने दक्ष बनाएर पठाउनुपर्छ,’ बोगटीले भने, ‘अदक्ष कामदारका रूपमा लाखौं नेपालीले विदेशमा सस्तोमा श्रम बेच्नुपरिरहेको छ ।’

वैदेशिक रोजगारबाट फर्केकाको संस्था आप्रवासी हकहित संरक्षण केन्द्र कैलालीका अध्यक्ष नारायण विकले पनि युवालाई भाषाभन्दा सीप आवश्यक रहेको बताए । सीप सिके भाषा व्यक्तिले आफैँ पनि सिक्न सक्ने उनको भनाइ छ ।

‘विदेश काम गर्न जाँदा भाषा पनि महत्वपूर्ण हो, तर सीप त्योभन्दा मुख्य हुन्छ । किनभने सीप सिकेर गए काम र तलब दुवै राम्रो पाइन्छ,’ अध्यक्ष विकले भने, ‘तर, अदक्ष कामदारले सस्तोमा श्रम बेच्नुपर्छ ।’

स्वरोजगारको बजेट भने खर्च भएन

सुदूरपश्चिम सरकारले स्वरोजगारमूलक कार्यक्रमका लागि विनियोजन गरेको बजेट भने फ्रिज हुने अवस्थामा पुगेको छ । प्रदेशमा स्वरोजगार कोष स्थापनाका लागि सरकारले चालू आर्थिक वर्षको बजेटमा एक अर्ब विनियोजन गरेको थियो । कोष सञ्चालनसम्बन्धी कानुन नै नबन्दा बजेट फ्रिज हुने अवस्था आएको हो ।

प्रदेशमा स्वरोजगार कोष गठन हुन सकेको छैन । सीप भएको जनशक्तिलाई विनाधितो ऋण तथा बेरोजगारलाई सीपमूलक तालिम दिन सरकारले स्वरोजगार कोष गठन गर्ने घोषणा बजेटमा गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्