सुनसरी प्रशासनकै अगाडि राजमार्गक्षेत्र अतिक्रमण सरोकारवाला बेखवर


 


इनरुवा । पूर्व पश्चिम राजमार्गको सुनसरी इनरुवा नगरक्षेत्रको जिल्ला प्रशासन कार्यालय नजिक विभिन्न व्यापार व्यवसाय गर्नेहरुले राजमार्गक्षेत्र अतिक्रमण गरेको पाईएको छ ।

इनरुवा ३ सखुवागाछीदेखि बसचौक सुनसरी खोलासम्मको राजमार्गक्षेत्रको जग्गा अतिक्रमण गरी चार दर्जन बढी व्यवसायीहरुले कवाडीदेखि हार्डवेयर सम्मका मालसामानहरु भण्डारण गरी राख्ने गरेका छन ।

सो खण्डमा सडक विभाग डिभिजन कार्यालय विराटनगरले तीन वर्ष अगाडि जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशनमा राजमार्गकोबीच भागबाट ८२ फिटको क्षेत्रफलमा अतिक्रमण गरेका संरचनाहरु हटाउन डोजर लगाई भत्काउने कार्य गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्ग क्षेत्रबाट दायाँवायाँ ८२ फिटमा ठुला ठुला पिलरहरु गाडेर राजमार्गक्षेत्रको जग्गा समेत खाली गराएको थियो ।

सुनसरी प्रशासनले सर्वदलीय सहमति गरेर खाली गराएको अतिक्रमण केही समयका लागि हटेपनि समस्या पहिलाको अवश्थामा आएकाले बढ्दो सवारीसाधनहरुको चाप र आवतजावतले दुर्घटनासँगै व्यापार गरी फाइदा कमाउनेहरुले सरकारी जग्गा अतिक्रमण गरी नियमनकारी सरकारी निकायहरुलाई चुनौती दिएको सर्वसाधरणहरु बताउँछन ।
हाल सो क्षेत्रफलभित्र पुनः चार दर्जनभन्दा बढी व्यवसायीहरुले व्यापार व्यवसाय गरी इट्टा, ढुड्डा, गिटी बालुवा, रड सिमेन्टको भण्डारण, सवारीसाधनको मोटर ग्यारेज, कवाडी सामानहरुको भण्डारण, स–मिलको काठका ठुला ठुला टुनहरु समेत कालोपत्रे सडक नजिकसम्म राख्ने गरेका छन ।
बाक्लो वस्ती भएको दुई लेनको राजमार्गमा दायाँवाया सडक अतिक्रमण हुँदा सडक पेटीमा हिड्डुल गर्ने सर्वसाधरणहरु, विभिन्न स्थानहरुमा गन्त्व्यमा आउने जाने यात्रुहरु, साईकल, मोटरसाईकल, सिटीसफारी लगायतलाई समेत ठुला सवारीसाधनहरुको दोहोर आवतजावत हुदाँ सडक दुर्घटनाको जोखिम हुने गरेको छ ।
इनरुवाका नारायण आचार्यले सडकको अनुगमन र सवारीसाधनहरुको सहज आवतजावतका लागि सुरक्षामा खटिएको ट्राफिक प्रहरीले समेत राष्ट्रिय राजमार्ग क्षेत्रमा स्थायी रुपमा कवाडीमा प्रयोग हुने विभिन्न सवारीसाधनहरु, काठका टुनसँगै अवरोध हुने मालसामानहरु भण्डारण गरी राख्दा वेवास्ता गर्ने गरेकाले दुर्घटनाको जोखिम बढने गरेको बताए ।
कानून व्यवसायी ईश्वरचन्द्र ढुड्डेलले कानस्न कार्यान्वयन गर्ने प्रमुख निकायहरुका प्रशासकदेखि जनताका प्रतिनिधिहरु सम्म रहेको इनरुवा नगरक्षेत्रको राजमार्ग क्षेत्र अतिक्रम गरी सडकको क्षेत्रलाई साघुँरो बनाउँदासमेत चासो नदिनु लाजमर्दो अवश्था भएको तर्क गर्छन ।

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्