राजपाका दुई जना केन्द्रीय सदस्यलाई जेल चलान


 


राजविराज । उपभोक्ता समिति गठन प्रकरणमा किर्ते गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजापा_ का दुई जना केन्द्रीय सदस्य जेल चलान भएका छन् । सप्तरी जिल्ला अदालतको आदेशपछि राजपाका केन्द्रीय सदस्यद्वय बीपी यादव र हरि मण्डल सोमबार पुर्पक्षका लागि राजविराज कारागारमा चलान भएका हुन् ।

न्यायाधीश उमेश कोइरालाको इजलाशले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सोही प्रकरणमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनयर राजकुमार गोइतलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनी ४ लाख धरौटी तिरेर तारेखमा रिहा भएका छन्।

पक्राउ परेका रुपनी गाउँपालिका–६ का रामानन्द ठाकुर र सोही ठाउँका दिलिप दाससँग अदालतले साढे दुई लाख धरौटी माग गरेको छ। उनीहरुमाथि प्रदेश–२ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सप्तरी जिल्लामा सञ्चालित योजनाको रकम कुम्ल्याउन गाउँपालिका तथा वडा कार्यालयको लेटरप्याड तथा दस्तखत किर्ते गरी सडक निर्माण उपभोक्ता समिति बनाएका थिए ।

अग्नीसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत २५ लाख रुपैयाँको योजना कुम्ल्याउन नागरिकतामा समेत केरमेट गरी प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्षहरुको किर्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरिएको विषयमा उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति: ६ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्