यति सस्तो छ मोबाइल डाटा प्याकेज


 


काठमाण्डौँ ।  मुलुकभित्र समग्रमा मोबाइल इन्टरनेट महँगो हुदाहुदै पनि यसको उपभोगमा सचेत हुने हो भने केही सस्तोमा प्रयोग गर्न सकिन्छ।

टेलिकम सेवा प्रदायकले ग्राहकलाई लक्षित गरी विभिन्न मोबाइल डाटा प्याकेज उपलब्ध गराइरहेका हुन्छन्। यसबारे पूर्ण जानकारी लिने हो भने उपभोक्ताले सस्तोमा इन्टरनेट चलाउनसक्ने टेलिकम सेवाप्रदायकको भनाइ छ।

अधिकांश उपभोक्तालाई मोबाइल डाटा कसरी चलाउने भन्ने सामान्य जानकारी छैन। सामान्य जानकारी अभावले उपभोक्ताले धेरै मूल्य तिरिरहेका नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन्।

‘उपभोक्ताले सही तरिकाले इन्टरनेट प्रयोग गर्न जान्ने हो भने प्रति एमबी तीन पैसासम्म पर्छ,’ वैद्यले भनिन्, ‘ जानकारी नहुँदा त्यसैलाई एक रुपैयाँसम्म तिरिरहेका हुन्छन्।’

वैद्यका अनुसार पहिला नर्मल ट्यारिफमा प्रति एमबी एक रुपैयाँमा डेटा चलाउने उपभोक्ताले अहिले तीन पैसा प्रति एमबी इन्टरनेट चलाइरहेका छन्।

उपभोक्ताले जान्नुपर्ने सामान्य कुरा के भने मोबाइल इन्टरनेट दुई तरिकाबाट चलाउन सकिन्छ। पहिलो, नर्मल इन्टरनेट र अर्को, प्याकेजमा उपलब्ध इन्टरनेट। नर्मल इन्टरनेटको मूल्य धेरै पर्छ भने प्याकेजमा लिँदा त्यही इन्टरनेटलाई धेरै सस्तो।

‘उपभोक्ताले मोबाइल इन्टरनेटको प्रयोग गर्ने तरिका नजान्दा महँगो मूल्य तिरिरहेका परेको छन्,’ नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले भने, ‘मोबाइल ब्रोडब्यान्डको प्रयोग गर्दा उपभोक्ता धेरै सचेत हुनुपर्छ।’

मोबाइल सेवा प्रदायकले प्याकेजमा डाटाको मूल्य तोकिरहेका हुन्छन्। प्याकेजमा किन्दा प्रति एमबी पाँच पैसा पर्ने इन्टरनेटलाई तीन रुपैयाँसम्म तिर्नुपर्छ।

प्याकअनुसार इन्टरनेटको मूल्य भर पर्ने वैद्यले बताइन। उनका अनुसार सानो प्याक लिए अलि महँगो पर्छ भने ठूलो प्याक लिँदा सस्तो पर्छ। ठूलो प्याक लिँदा प्रति एमबी ३–४ पैसासम्म पर्ने उनको दाबी छ।

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेलले यसबारे प्रयोगात्मक अध्ययन गरेका छन्। उनकोे अध्ययनका आधारमा डेटा प्याकेज नलिइ मोबाइलमा इन्टरनेट चलाउँदा सेवा प्रदायकअनुसार एक एमबीको नेपाल टेलिकममा १.२७ रुपैया, एनसेल र स्मार्ट टेलिमकमा २.५४ रुपैया लाग्ने बताए। उनका अनुसार आफूलाई चाहिने इन्टरनेटको भोलुमअनुसार महँगो र सस्तो छान्न सकिन्छ। जस्तो किः कम इन्टरनेट प्रयोग गर्ने उपभोक्ताले नेपाल टेलिकमको प्याकेज छान्दा सस्तो पर्ने र धेरै इन्टरनेट प्रयोग गर्नेले एनसेलको प्याकेजमा सस्तो पर्ने उनको भनाइ छ।

कँडेलले नेपाल दूरसञ्चार प्राधिकरणको स्मारिका २०७५ मा महिनाको दुई जिबीको डाटा प्याक लिँदा एनसेलमा प्रति एमबी २७ पैसा, नेपाल टेलिकममा १२ पैसा र स्मार्ट टेलिकममा सात पैसा पर्ने उल्लेख गरेका छन्। त्यस्तै, प्रति महिना ५ जिबीको डाटा प्याक लिने हो भने एनसेल र एनटिसीको झन्डै बराबर ११ पैसा पर्न आउँछ। स्मार्ट टेलिकमको भने सात पैसा लाग्ने कँडेलले उल्लेख गरेका छन्।

महिनाको पाँच जिबीभन्दा धेरै प्रयोग गर्ने उपभोक्ताले एनसेलमा प्रति एमबी सात पैसा र नेपाल टेलिकममा ११ पैसा तिर्नुपर्छ। स्मार्टमा भने पाँच पैसाभन्दा कम लाग्छ।

‘मैले गरेको अध्ययन अनुसार थोरै भोलुमको प्याक लिँदा नेपाल टेलिकमको सस्तो पर्छ,’ उनले नेपालन्युजसँग भने, ‘धेरै भोल्युुमको प्याक छ भने एनसेलको सस्तो पर्छ।’ डाटा उपभोक्तालाई उनको सुझाव छ, ‘आफूलाई कति चाहिने हो, त्यसअनुसार प्याकेज लिन पनि जान्नुपर्छ।’

एनसेलको प्याकेजमा लिँदा प्रति एमबी पाँच पैसासम्म लाग्छ। धेरै व्यस्त व्यक्ति, व्यवसायमा लागेकाले यस्ता प्याकेजलाई खासै मतलब समेत राख्दैनन्। एनसेलका अनुसार मासिक डाटामा मात्र ७, ८ हजार खर्च भइरहेको हुन्छ। एनसेलले नर्मल डाटा प्रयोग गरेर धेरै खर्च गर्ने ग्राहकलाई फोन गरेरै सस्तो प्याकेज प्रयोग गर्न सचेत गराउँदै आएको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्