कोपा अमेरिकाको उपाधि आयोजक ब्राजिललाई


 


एजेन्सी, असार २३

आयोजक ब्राजिलले कोपा अमेरिका २०१९ को उपाधि जितेको छ । नेपाली समय अनुसार सोमबार राति मार्कना फुटबल मैदानमा भएको खेलमा पेरुलाई ३-१ गोल अन्तरले हराउँदै  ब्राजिलले उपाधि हात पारेको हो ।

ब्राजिललाई उपाधि दिलाउनको लागि एभरटन सुअरेज, ग्याब्रीएल जेसस र रिचार्लिसनले समान एक/एक गोल गरे । पेरुको पाओलो गुरेरियाले एक गोल फर्काए । ब्राजिलले पहिलो हाफमा दुई गोल गरे भने दोस्रो हाफमा एक गोल थप्यो ।

खेल सुरु भएको १५ मिनेटमा नै एभरटनले गोल गर्दै ब्राजिलले अग्रता दिलाएका थिए । बक्सको तल्लो क्षेत्रबाट ग्याब्रिएल जेससले दिएको पासलाई एभर्टनले गोलमा परिणत गरे ।

४४औं मिनेटमा बक्स क्षेत्रमा थियागो सिल्भाले लड्नेक्रममा ह्यान्ड बल गरेपछि पेरुले पेनाल्टी पायो । उक्त पेनाल्टी पाओलोले गोलमा परिणत गर्दै खेल १–१ बनाए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा ब्राजिलले गोल हान्यो । इन्जुरी समयको तेस्रो मिनेटमा अर्थुरको पासमा जेससले बक्स भित्रबाट सहजै गोल गरेपछि पहिलो हाफ २–१ गोल भयाे ।

७०औं मिनेटमा ब्राजिल १० खेलाडीमा सीमित हुन पुग्यो । जेसस रातो कार्ड खाएर मैदान छाडेपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो । तर, त्यसपछि पनि ब्राजिलले गोल थप्न सफल भयो ।

खेलको ९०औं मिनेटमा पेनाल्टीबाट सब्सिच्युट खेलाडी रिचार्लिसनले गोल गरे । बक्समा ब्राजिलका खेलाडी एभर्टनमाथि फउल गरेर लडाएपछि रेफ्रीले ब्राजिललाई पेनाल्टीको मौका दिएका थिए । रिचार्लिसन गोल गरेपछि ब्राजिलले ३–१ गाेल अन्तरले उपाधि जित्याे ।

यो सँगै ब्राजिलले नवौंपटक कोपाको उपाधि जित्न सफल भएको छ । ब्राजिल सर्वाधिक धेरै कोपा जित्ने तेस्रो टिम हो । १५ उपाधिसहित उरूग्वे शीर्ष स्थानमा छ भने १४ उपाधिसहित अर्जेन्टिना दोस्रोमा छ ।

प्रकाशित मिति: २३ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्