जायज कुरामा कसैसँग शिर नझुकोस, नाजायज कुरा नहोस


 


काठमाडौं, असार २५  प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकता परिपूर्तिका निम्ति दक्ष जनशक्ति निर्माणको पक्षलाई ध्यान दिएर शैक्षिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ । विश्वविद्यालयसभाको ६० औँ वार्षिक दिवस बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राविधिक वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकता दिन निर्देशन दिनुभएको हो ।

‘शिक्षण संस्थालाई पवित्र मन्दिरका रुपमा विकास गर्नुपर्छ । जायज कुराका लागि कसैसँग शिर झुकाउनु पर्दैन, नझुकोस, नाजायज कुरा सुनिदैन, कसैबाट पनि नहोस । अनावश्यक कुराका लागि कुनै प्रभावमा नपर्नुहोला । त्यस्तो लबिङ सुनिँदैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । त्रिविका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले त्रिवि विश्वका उत्कृष्ट एक हजारभित्र र एशियामा उत्कृष्ट ३ सयभित्र पर्न सफल भएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले बजारले माग गर्ने प्रकारको जनशक्ति उत्पादनमा त्रिविले आफूलाई केन्द्रित गर्नुपर्ने धारणासमेत राख्नुभयो ।

‘शिक्षा क्षेत्र सामाजिक परिवर्तन र आवश्यकताअनुरुप प्रभावित हुँदै आउने भएकाले वर्तमान समयमा शिक्षाको तौरतरिका, माध्यम र शिक्षा प्रवाहका क्रममा व्यवस्थापन गर्नुपर्ने शैक्षिक वातावरणप्रति हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नवनिर्मित त्रिवि उपकुलपतिको कार्यालय उद्घाटन पनि गर्नुभएको थियो । सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयको नेतृत्वले आफ्ना कमजोरी र त्रुटिको समीक्षा गर्नुपर्ने बताउँदै संघीय र प्रादेशिक विश्वविद्यालयको वर्गीकरणपछि नयाँ ढंगले अघि बढ्नुपर्ने आग्रह गर्नुभयो । ‘विश्वविद्यालय अब हिजोको तरिकाबाट चल्दैन । यो प्रतिस्पर्धी, सक्षम र उत्पादनशील जनशक्ति उत्पादनमा लाग्नुपर्छ,’ मन्त्री पोखरेलले भन्नुभयो ।

त्रिबिका उपकुलपति प्राडा तीर्थराज खनियाँले त्रिविले आफ्ना उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियरुपमा प्रतिस्पर्धी, अनुसन्धानमुखी, उत्पादनमुखी बनाउन समयानुकूल पाठ्यक्रम निर्माण र परिमार्जनका लागि प्राथमिकता दिएको बताउनुभयो । शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले त्रिविमा व्याप्त रोगको उपचारका लागि दरो इच्छाशक्ति र निर्भीकता बोकेको व्यक्तिको खाँचो रहेको बताउनु भयो । बैठकमा रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गर्नुभएको ५७ औँ ग्रेस लिष्ट पारित भएको थियो ।

प्रकाशित मिति: २५ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्