इलाम २ मा मतगणनाको तयारीका लागि सर्वदलीय बैठक


 


काठमाडाैं । शनिबार सम्पन्न इलाम– २ को उपनिर्वाचनको मत गन्ने तयारीका लागि सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठक आइतबार बिहान ७ः५० बजेतिर शुरू भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । बैठक सकिएपछि मतगणना शुरू हुने जनाइएको छ ।

सबै मतदान केन्द्रबाट मतपेटिकाहरू भने राति नै इलाम बजारस्थित गौतम बुद्ध सभाहलमा ल्याइसकिएको छ । मतगणनास्थल भने शनिबार नै तयारी अवस्थामा राखिएको थियो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ यादवले बताए । मतगणनास्थलमा तारले घेरेर सीसीटीभी जडानसमेत गरिएको छ ।

जालीबाहिर बसेर उम्मेदवारका प्रतिनिधिले हेर्न पाउने व्यवस्था मिलाइएको उनले बताए । शनिबार साँझ ५ बजे सम्पन्न इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ ।

एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान गर्नेमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र २ जना अन्य छन् । महिलाको तुलनामा मतदान गर्ने पुरुषको संख्या ९८५ जना बढी छ ।

इलाम–२ मा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरी जम्मा १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

प्रकाशित मिति: १६ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्