मुख्यमन्त्री कपको फाइनल धरानमा हुने


 


विराटनगर, असार २५

मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता प्रदेश १ को अन्तिम चरण र फाइनल खेल धरानमा हुने भएको छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनका क्रममा प्रतियोगिता आयोजक समितिका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले खराब मौषमका कारण पूर्व निर्धारित विराटनगरको सहिद रंगशालामा खेल हुन नसकेको र धरानमा खेल हुने जानकारी दिनु भयो ।

वर्षाका कारण सहिद रंगशाला डुबानमा परेका कारण प्रतियोगिता धरान सार्नु परेको जनाइएको छ । राईले उपाधि विजेताका लागि प्रदान गरिने चार किलो चाँदीको ट्रफी समेत सार्वजनिक गर्नु भयो । प्रदेश १ को नक्सा अंकित भएको ट्रफीको मूल्यको जानकारी भने दिइएन । सो ट्रफी विजेता टोलीले एक महिनासम्म उत्साह र खुशीयाली मनाउन राख्न पाउने बताउँदै राईले त्यसपछि पुनः आयोजकलाई फिर्ता गर्नु पर्ने बताउनु भयो । अर्कोपटक रनिङ शिल्डका रुपमा प्रतियोगिता हुने उहाँको भनाइ छ ।

त्यसैगरि, प्रतियोगितामा विजेता टोलीले ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ हात पार्ने छन् । पत्रकार सम्मेलनका क्रममा बजेटका विषयमा उठेका टिकाटिप्पणी र कम समयमा सम्पन्न गर्नुपर्ने प्रतियोगिता निष्पक्ष भएको राईको दाबी छ । प्रतियोगिताको अन्तिम चरणका लागि धरान फुटबल क्लब, बौद्धिक विकास समाज धनकुटा, बेलबारी फुटबल क्लब मोरङ, सैनिक युथ क्लब झापा, बाक्सिला फुटबल क्लब खोटाङ र रेडहर्ष फुटबल क्लब इलामबीच स्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल आगामी सोमबार हुने बताइएको छ । यसअघिको प्रतियोगितामा उदयपुर, धरान र इलाममा १४ वटा टोलीले प्रतिस्पर्धा गरेका थिए । सो क्रममा ८ वटा टोली पहिलोचरणबाट बाहिरिएका छन् । प्रतियोगिताका लागि १ करोड प्रदेश सरकार र ३३ लाख रुपैयाँ एन्फाले ब्यहोरेको छ ।

प्रकाशित मिति: २५ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्