काँग्रेसमा नेतृत्वको संकट, अस्थायी अध्यक्षको खोजी


 


नयाँ दिल्ली । लोकसभा निर्वाचनको परिणामसँगै भारतको प्रमुख विपक्षी काँग्रेसभित्र नेतृत्वको संकट चुलिएको छ ।

अध्यक्ष राहुल गान्धीले पार्टीले निर्वाचनमा भोगेको पराजयको जिम्मेवारी लिने भन्दै पदबाट गत जुनमा राजीनामा दिएपछि काँग्रसभित्र नेतृत्वको संकट उत्पन्न भएको हो ।

निर्वाचनमा नराम्रो पराजय भोगेपछि संकटमा फँसिरहेको काँग्रेसमा एक पछि अर्को गर्दै नेताहरुले पार्टीबाट राजीनामा दिइरहेका छन् ।

यो संकट हल गर्नका लागि वरिष्ठ नेताहरुले पूर्वअध्यक्ष सोनिया गान्धीलाई अस्थायी अध्यक्ष बनिदिन आग्रह गरेका थिए ।

भारतको दोस्रो ठूलो पार्टी भएपनि काँग्रेस निर्वाचनमा पराजित भएपछि केही राज्यमा निकै कमजोर बनेको छ । यही अवस्थाबीच वरिष्ठ नेताहरुले नेतृत्वको संकट हल गर्नका लागि तत्कालका लागि अस्थायी अध्यक्ष बस्न सोनिया गान्धीलाई आग्रह गरेका हुन् ।

यद्यपि पूर्व अध्यक्ष रहेकी सोनिया गान्धीले सो आग्रहलाई अस्वीकार गरेको बताइएको छ । ७२ वर्षीया सोनियाले स्वास्थ्यका कारण पनि अस्थायी अध्यक्षको जिम्मेवारी बहन गर्न सहज नहुने बताएकी छन् ।

गत वर्षमात्रै पार्टीको अध्यक्ष पद आफ्नो छोरालाई हस्तान्तरण गरेकी उनले पार्टीका गतिविधिमा आफूलाई निकै कम मात्रामा मात्रै सामेल गराउने गरेकी छन् ।

उनले निकटका सहयोगीसँगको कुराकानीमा अस्थायी रुपमा पनि पार्टीको मुख्य पद सम्हाल्न सम्भव नहुने र यो चुनौती हुने उल्लेख गरेकी छन् ।

स्रोतका अनुसार पार्टी अध्यक्ष राहुल गान्धीले राजीनामा दिएको एक महिनापछि ट्विटमार्फ राजीनामा सार्वजनिक गर्नुका साथै फिर्ता लिन अस्वीकार गरेपछि काँग्रेस नयाँ नेतृत्वको खोजीमा जुटेको हो ।

राहुलले राजीनामाबारे पुनर्विचार गर्न अस्वीकार गरेपछि काँग्रेसका वरिष्ठ नेताहरुले सोनियालाई हस्तक्षेप गर्न आग्रह समेत गरेका थिए ।

केन्द्रदेखि राज्यस्तरका नेताहरुले समेत राजीनामा दिन थालेपछि भारतीय काँग्रेसमा यतिबेला थप समस्या उत्पन्न भएको छ ।

कर्नाटकमा गत साता केही नेताले राजीनामा दिएपछि सोनियाले हस्तक्षेप गर्दै एकजना विधायकलाई राजीनामा फिर्ता लिन लगाएकी थिइन् ।

सोनियासँगको कुराकानीपछि विधायक सोम्या रेड्डीले पुराना काँग्रेस नेता रामालिंगा रेड्डीलाई पार्टी छोड्नबाट रोकाएकी हुन् । रेड्डीले गत शनिबार पार्टी छाडेको घोषणा गरेका थिए ।

काँग्रेस कर्नाटकमा आफ्नो गठबन्धन बचाउन संघर्ष गरिरहेको छ भने गोवामा काँग्रेसकै विधायक पार्टी छाडेर भाजपामा गएका छन् । यस्तै घटना तेलंगनामा पनि भएको थियो ।

राहुल गान्धीले काँग्रेस अध्यक्ष पद छाडेपछि पार्टीमा देशभर राजीनामाको लहर चलेको हो । जसमा केही राज्यका पार्टी प्रमुख समेत रहेका छन् ।

ज्योतिरादित्य सिंधिया र मिलिन्द देबडाजस्ता वरिष्ठ काँग्रेस नेताले समेत राजीनामा दिएका छन् । काँग्रेसमा राहुल अध्यक्षमा नफर्किए सो स्थानमा कसलाई ल्याउने भन्नेबारेमा हालसम्म सहमति बन्न सकेको छ्रैन ।

प्रकाशित मिति: २६ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्