जोखिम मोलेर शिक्षा


 


काठमाडौं । कैलालीको काँडा नदीको पश्चिमतर्फ बन्जरिया जंगलसँगै जोडिएको एउटा ठूलो बस्ती छ । जोशीपुर गाउँपालिका–३ मा पर्ने सो बस्तीमा रहेको शिविरमा लगभग पाँच सय घरधुरीमा मुक्त कमैया बस्छन् ।

सोही वडामा पर्ने अन्य दुई गाउँ बन्जरिया र भगैयास्थित शिविरमा पनि मुक्त कमैयाका करिब तीन सय घरधुरी छन् । बाक्लो बस्ती भए पनि ती ठाउँमा माध्यमिक शिक्षाका लागि भरपर्दो व्यवस्था छैन । शिविरमा कक्षा ५ सम्मको मुक्त कमैया प्राथमिक विद्यालय छ भने नजिकैको गाउँमा कक्षा ८ सम्मको जनजागृति आधारभूत विद्यालय छ ।

त्यहाँका करिब पाँच सय बालबालिका माथिल्लो तहको शिक्षाका लागि काँडा नदी तरेर जोशीपुर, बौनियाँ र मुद्दीस्थित विद्यालयमा जानुपर्ने बाध्यता छ । वर्षायाममा यो नदी तरेर बालबालिका विद्यालय जानु निकै कष्टकर छ । काँडा नदीमा एउटा मात्रै डुंगा छ । त्यसमा एकपटकमा नौजना मात्रै चढ्न मिल्छ । विद्यार्थीलाई नदीवारपार गराउन त्यो डुंगालाई झन्डै चार घण्टा समय लाग्छ ।

विद्यार्थी लामो पर्खाइपछि नदी पार गर्छन् र त्यहाँबाट पैदलयात्रा गरेर उनीहरू विद्यालय पुग्छन् । ‘माथिल्लो कक्षा पढ्न योभन्दा अर्को विकल्प छैन,’ स्थानीय धर्मेन्द्र बिष्टले भने, ‘यो वर्षौंदेखि विद्यार्थीले भोग्दै आएको नियति हो ।’ विद्यार्थीका लागि डुंगाको यात्रा कष्टकर मात्रै होइन, जोखिमपूर्ण पनि छ । स्थानीयका अनुसार कैयौंपटक विद्यार्थी चढेको डुंगा पल्टिएको पनि छ । त्यस्तो घटनामा केहीले ज्यानसमेत गुमाइसकेका छन् ।

त्यस्ता घटनाले विद्यार्थीहरू डुंगा चढ्न डराउने गरेका छन । उनीहरूलाई पढाइको भन्दा पनि डुंगा कसरी तर्ने भन्नेबारे बढी चिन्ता हुन्छ । जोशीपुरस्थित मोहन्याल माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत प्रकाश चौधरी डुंगमा नदी तर्ने क्रममा सधैं डर लाग्ने गरेको बताउँछन् । ‘मनमा कतिबेला के हुने हो भन्ने डर भइरहन्छ,’ उनले भने, ‘म मात्रै होइन। हामी सबै डर पालेर उच्च शिक्षाको यात्रामा छौं ।’ आजको नागरिक दैनिकमा टीकापुरबाट योगेश रावलले यो समाचार लेखेका छन् ।

प्रकाशित मिति: ८ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्