तंग्रिँदै भोजपुरका भुकम्पपीडित 


 


ghar 1ध्रुव सुवेदी
भोजपुर, जेठ १६
सदरमुकामदेखी छ कोष पश्चिम कोट गाविस–४ बानुवाका रमेश नेपाल गोरु जोत्दैछन् । उनकी १५ बर्षिया बहिनी विद्यालय गएकी छन् । आमा घरधन्दामा सक्रिय देखिन्छन् । उनिहरुको तीन तले घर एक्लो छ । घरभित्रको भाडाँवर्तन बाहिर निकालेका छन् भने पाल र चित्राले बारेर अस्थायी बासस्थान बनाएका छन् । घर भन्दा केही मिटर माथि बनाएको अस्थायी टहरोमा नै उनिहरुको यो बर्षात बित्नेछ । घर बस्नका लागि लायक नै छैन् । घर पुरै चिराचिरा परेको छ, माथिल्लो तला झरेको छ ।
घर भत्केको तिन साता पछि उनिहरुले एउटा पाल पाए भने एक महिनापछि पाँच हजार नगद । यो राहतले उनिहरुको नयाँ घर उभिदैन् । आर्थिक अवस्था कमजोर रहेका उनिहरु हिउँदयाममा नयाँ घर बनाउने योजनामा छन् । बर्खा समयले छोप्यो, तत्काल घर बनाउन सकिदैन्, कक्षा १२ को परीक्षाको तयारी गर्दे गरेका रमेशले भने हिउँदयाममा घर बनाउँछौं । उनिहरुको नियमित कामकाज यही अस्थायी टहरोबाट सञ्चालन हुन थालेको छ । यो गाविसमा मात्रै एक सय पाँच वटा घर पूर्ण रुपले क्षतिग्रस्त छन् भने दुई सय घरमा आंशिक क्षति पुगेको छ ।
सदरमुकामदेखी पुर्वमा रहेको चरम्बी गाविस–६ का ध्रुव लकान्द्रीले आफ्नो लडेको घर नजिकै अर्काे अस्थायी घर बनाए । जतिबेला घर ढल्यो, लकान्द्रीले ओतका लागि हप्तौसम्म एउटा पाल समेत पाएनन् । यो ठाउँका सबै भुकम्पपीडित मिलेर बस्न नमिल्ने घरका बासिन्दालाई अस्थायी घर निर्माणमा सघाउन एक जुट भए । यतिबेला लकान्द्री चिटिक्क परेको अस्थायी घरमा बस्न थालेका छन् । उनको परिवार विस्तारै नियमित दैनिकीमा फर्कन थालेको छ । यो गाविसका सबै भुकम्पीडित आफै जुटेर अस्थायी घर निर्माणमा जुटेका छन् ।
भोजपुर सदरमुकामदेखी दुई दिनको पैदल दूरीमा रहेको दोभाने गाविसका भुकम्पपीडित विस्तारै तग्रिंन थालेका छन् । भौगोलिक विकटताका कारण लामो समयसम्म राहत सामाग्री पाउन नसक्दा दोभानेबासीको बिचल्नी भएको थियो । लामो पर्खाइपछि पनि एक थान पाल र पाँच हजार मात्र नगद पाउने भएपछि उनिहरु आफै निर्माणमा जुट्न थालेका हुन् । जिल्लामा सबैभन्दा बढी दोभाने गाविसमा भौतिक क्षति भएको छ । यो गाविस पुरै क्षतिग्रस्त अवस्थामा छ । साढे तीन सय घरहरु पूर्ण रुपले ध्वस्त छन् । यो गाविसमा एक हजार परिवारको बसोबास छ । दुई सय घरहरुमा आशिंक रुपले क्षति पुगेको जिल्ला दैवि प्रकोप उद्धार समितिले जनाएको छ ।
जिल्ला दैवि प्रकोप उद्धार समिति भोजपुरको बिहिबारसम्मको तथ्यांकमा यहाँ तीन हजार दुई सय ५१ घरहरु पूर्ण रुपले क्षतिग्रस्त अवस्थामा छन् । सात हजार घरमा आशिंक रुपले क्षति पुगेको छ । पूर्वाञ्चलमा सबैभन्दा बढी भौतिक रुपमा क्षति हुँदा समेत भोजपुरमा सरकारको आखाँ पुग्न नसकेको यहाँका भुकम्पपीडितको आरोप छ । सरकारले भोजपुरलाई भुकम्पबाट कम प्रभावित जिल्लाको सुचिमा राखेकोमा यहाँका भुकम्पपीडित आक्रोशित बनेका छन् । भुकम्प गएको दुई सातासम्म केही पाउन नसकेको दोभानेका भुकम्पपीडित रामबहादुर विकले बताए । सरकारले यति दिने र उति दिने भनेको रेडियोबाट सुन्छौं, विकले भने अहिलेसम्म एउटा पाल र पाँच हजार नगद बाहेक अरु केही पाएको हैन् । यति राहतले कसरी घर ठड्याउँनु विकले आक्रोशित हुँदै भने । राहत सामाग्री वितरणमा सरकारले भोजपुरलाई विभेद गरेको यहाँका भुकम्पपीडितको बुझाई छ ।
एक सय १२ विद्यालय र ५९ सरकारी कार्यालयमा क्षति
विनाशकारी महाभुकम्पबाट भोजपुरमा एक सय १२ वटा सामुदायिक विद्यालयमा क्षति पुगेको छ । ३२ सामुदायिक विद्यालय पुर्ण रुपले क्षतिग्रस्त अवस्थामा छन् भने बाँकी विद्यालयमा आशिंक क्षति पुगेको जिल्ला दैवि प्रकोप उद्धार समिति भोजपुरले जनाएको छ । जाल्पा मावि खाटम्मा, प्रजातन्त्र मावि खाटम्मा, विरेन्द्र उच्च मावि कुलुङ, पञ्चकन्या प्रावि दोभाने, सिंहदेवी प्रावि दोभाने, सालेवा प्रावि दोभाने, आइतबारे निमावि दोभाने, महाकाली प्रावि खावा लगायत २६ विद्यालय पुर्ण रुपले क्षतिग्रस्त अवस्थामा छन् । यी विद्यालयमा कतै पाल टांगेर पठनपाठन भईरहेको छ भने कतै पठनपाठन बन्द छ । सिलिचुङ प्रा.वि.खाटम्मा, आम्तेक मा.वि.आम्तेक, पन्चकन्या प्रा.वि. बैकुण्ठे, जलकन्या प्रा.वि.देवानटार, जाल्पा प्रा.वि. प्याउली लगायत ४८ विद्यालयमा आंशिक क्षति पुगेको हो । ५९ वटा सरकारी कार्यालयमा भुकम्पबाट क्षति पुगेको छ ।
१६ सरकारी कार्यालय पुर्ण रुपले क्षतिग्रस्त अवस्थामा छन् । स्वास्थ्य चौकी, गाविस कार्यालयमा सर्बभन्दा बढी क्षति भएको छ । स्वास्थ्य चौकी दोभाने, श्यामशिला गाविस कार्यालय, खाटाम्मा, पाङ्चा गाविस कार्यालय, प्रहरी चौकी, जिल्ला खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय भोजपुर पुर्ण रुपले क्षतिग्रस्त छन् । खानेपानी कार्यालयमा रातो टाँचा समेत लगाइएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, पशु सेवा कार्यालय, गाउँका गाविस भवन, पशु स्वास्थ्य कार्यालय, गाउँका प्रहरी चौकीमा आंशिक क्षति पुगेको छ ।
डेढ करोड रकम वितरण
यहाँका भुकम्पपीडितलाई डेढ करोड रकम वितरण गरिएको छ । बिहिबारसम्म एक करोड ४३ लाख ९३ हजार नगद वितरण गरेको जिल्ला दैवि प्रकोप उद्धार समिति भोजपुरले जनाएको छ । पुर्ण रुपले घर ध्वस्त भएका भुकम्पपीडितलाई पहिलो चरण अन्तर्गत पाँच हजार नगदका दरले रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए । भुकम्पबाट मृत्यु भएका दुई परिवारलाई दुई लाख ८० हजार नगद उपलब्ध गराइएको छ । भोजपुरमा भुकम्पबाट दुई जनको मृत्यु भएको थियो । दोभाने गाविसमा १५ लाख ४० हजार भुकम्पपीडितलाई नगद वितरण गरिएको छ । यहाँका तीन सय ८ परिवारलाई नगद वितरण गरिएको हो ।
कुदाककाउँले गाविसमा पाँच लाख ३५ हजार, खाटाम्मा गाविसमा छ लाख ३५ हजार, छिनामखु गाविसमा एक लाख ६० हजार, रानीबास गाविसमा दुई लाख ८० हजार नगद वितरण भएको हो । यहाँका अन्य गाविसमा पनि यतिबेला धमाधम नगदसँगै राहत सामाग्री वितरण भइरहेको छ । जिल्लाको ५४ वटै गाविस र दुईटै नगरपालिकामा राहत सामाग्री वितरण गरिदै आएको स्थानीय विकास अधिकारी भानुभक्त न्यौपानेले बताए । भोजपुरमा सरकारी तथा गैह्र सरकारी तवरबाट कम मात्रामा राहत सामाग्री उपलब्ध हुँदा अझै भुकम्पपीडितले राहत पाउन सकेका छैनन् ।

प्रकाशित मिति: १६ जेष्ठ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्