चिनियाँ राष्ट्रपति सी जिनफिङ आज नेपाल आउँदै


 



काठमाडौं, असोज २५
चिनियाँ राष्ट्रपति सी जिनफिङ आज नेपाल आउँदैछन् । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

उनी हिजै भारतको तमिलनाडु पुगिसकेका छन् । त्यहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि दुईपक्षीय अनौपचारिक भेटवार्ता भएको छ । राष्ट्रपति सी त्यहाँबाट नै नेपाल आउने कार्यक्रम रहेको सरकारका प्रबक्ता सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले बताए ।

चिनियाँ राष्ट्रपतिले २३ वर्षपछि नेपाल भ्रमण गर्न लागेका हुन् । यसअघि १९९६ मा तत्कालिन चिनिया राष्ट्रपति जियान जेमिनले भ्रमण गरेका थिए । त्यसअघि १९८४ मा सियान नियामले पाँच दिने भ्रमण गरेका थिए ।

विश्वकै शक्तिशाली राष्ट्रप्रमुखमध्येका सीको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ । उनी भोलि (आइतबार) दुई दिने भ्रमण सकेर स्वदेश फर्किने छन् ।

प्रकाशित मिति: २५ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्