अब स्कुल, कलेज र विश्वविद्यालयमा मोबाइल प्रतिबन्ध, शिक्षकले पनि बोक्न नपाउने


 


युपी (भारत), कात्तिक २

भारतको उत्तर प्रदेश सरकारले शैक्षिक संस्थामा मोबाइल, स्मार्टफोनमा प्रतिबन्ध लगाएको छ ।

यसअघि क्याविनेट बैकठमा समेत मोबाइल प्रतिबन्ध लगाएको मुख्यमन्त्री योगी आदित्यनाथको सरकारले उत्तर प्रदेशका स्कुल, कलेज र विश्वविद्यालयमा स्मार्टफोन र मोबाइलमाथि प्रतिबन्ध लगाएको हो ।

उत्तर प्रदेशको उच्च शिक्षा विभागले शुक्रबार प्रतिबन्ध सम्बन्धी सम्पूर्ण शैक्षिक संस्थामा सर्कुलर जारी गरेको छ । सर्कुलरअनुसार राज्यका कुनै पनि विश्वविद्यालयमा विद्यार्थी मात्र होइन शिक्षकले पनि स्मार्टफोन बोकेर प्रवेश गर्न पाउने छैनन् ।

यो निर्णय कलेज र विश्वविद्यालयमा पढाईको वातावरण बढाउन गरिएको उच्च शिक्षा विभागले जनाएको छ । साथै यो प्रतिबन्ध मोबाइलमात्र नभई सम्पूर्ण प्रकारका इलेक्ट्रोनिक ग्याजेटमाथि हो । शिक्षक र विद्यार्थीहरु अधिकांश समय मोबाइलमा झुण्डिएर समय खेर फालिरहेकाले यो निर्णय लिनुपरेको प्रदेश सरकारको भनाई छ ।

यो निर्णय सरकारी तथा निजी सम्पूर्ण शिक्षण संस्थामा लागु हुने छ । यो निर्णयले शिक्षण संस्थानहरुमा शिक्षाको गुणस्तरमा सुधार आउने विश्वास लिइएको छ ।

सर्कुलरअनुसार पढाउने समयमा शिक्षकले पनि मोबाइल बोक्न पाउने छैनन् । कक्षा भइरहेका बेला विद्यार्थी र शिक्षक दुबै स्मार्टफोन चलाउने गरेको गुनासो आएपछि प्रदेश सरकारले यसको असर उनीहरुको रिजल्ट, परीक्षाको तयारी लगायतमा परेको निष्कर्ष निकालेको थियो ।

यसअघि योगी सरकारले क्याविनेट बैठकमाा समेत मोबाइल फोनमा प्रतिबन्ध लगाएको थियो । बैठकका क्रममा अधिकांश मन्त्रीहरु व्हाट्स ऐपमा म्यासेज पढेर बस्ने र बैठकमा ध्यान नदिने भएकाले यस्तो निर्णय लिइएको थियो । एजेन्सी

प्रकाशित मिति: २ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्