सागमा नेपालको उत्कृष्ट सुरुवात, पहिलो खेलमै बंगलादेशलाई हराउँदै शतप्रतिशत नतिजा


 


काठमाडौं, मंसिर ११

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको पहिलो खेलबाटै नेपालले सुखद सुरुवात गरेको छ । औपचारिक रुपमा साग सुरु हुनुअगावै बुधबार महिला भलिबल अन्तर्गतको पहिलो खेलमा नेपालले बंगलादेशलाई हराएको हो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको हो । तीनै सेट जितेको नेपालले तीन अंक प्राप्त गरेको छ ।
पहिले र दोस्रो २५–९ ले विजयी भएको नेपाल अन्तिम सेटमा २१–१ ले विजयी भयो । पहिलो सेटमा सरस्वती चौधरीले सर्वाधिक ५ पोइन्ट, प्रतिभा मालिले ४ पोइन्ट र रेस्मा भण्डारीले ३ पोइन्ट जोडिन ।

त्यस्तै दोस्रो सेटमा प्रतिभाले ६, सरस्वतीले ४, हीरा केसीले ३, ऊषा भण्डारीले ३ पोइन्ट जोडेकी थिईन। खेलमा नेपालकी १६ बर्षीया ऊषा भण्डारीले राष्ट्रिय महिला भलिबल टिममा डेब्यु समेत गरिन् ।

औपचारिक रुपमा खेल उद्घाटन हुन पाँच दिन बाँकी भएपनि प्रतिस्पर्धा आजैबाट सुरुवात भएको हो । खेलमा नेपाल अरुणा शाहीको कप्तानीमा मैदान उत्रिएको छ । भलिबलबाहेक अन्य खेल भने उद्घाटनपछि नै हुनेछन् । एक राष्ट्र भुटानको भलिबलमा सहभागिता छैन ।

दुई साताअघि बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन महिला भलिबलमा च्याम्पियन नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिएको थियो ।

अर्को खेल नेपालले भारतसंग आगामी शुक्रबार प्रतिस्पर्धा गर्ने छ । नेपाली महिला टोली सागमा स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ ।

बंगलादेशसंग नै पुरुष भलिबल पनि बुधबारै साँझ हुँदैछ ।

प्रकाशित मिति: ११ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्