राष्ट्रिय पुस्तकालय दिवसमा अन्तरक्रिया


 


भाेजपुर, भदाै १०

जिल्ला शिक्षा कार्यालय, भोजपुरको आयोजनामा ‘जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय’ भन्ने नाराका साथ भोजपुर जिल्लामा नवौं पुस्तकालय दिवस २०७३ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला शिक्षा अधिकारी एवं स्तरीय पुस्तकालय दिवस मुल आयोजक समितिका संयोजक सीताराम श्रेष्ठको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी अर्जनप्रसाद शर्माको प्रमुख आतिथ्यमा जिल्ला विकास समितिको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पुस्तकालयको ऐतिहासिक पृष्ठभुमि, नेपालमा पुस्तकालय स्थापनाको इतिहास, पुस्तकालयको महत्व, पुस्तकालय व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराहरु समेटेर भोजपुर बहुमुखी क्याम्पसका सूचना अधिकारी नोदनाथ त्रितालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर रोशन पाठकले गर्नुभएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद शर्माले पुस्तकालयको महत्व बुझेर सबैले स्वामित्व लिन सके पुस्तकालयलाई व्यवस्थित गर्न सकिने धारणा व्यक्त गर्नु भयो । उहाँले भोजपुर जिल्लामा पुस्तकालय सञ्चालनबारे जिल्ला शिक्षा कार्यालयले नीति नै बनाएर पुस्तकालयको व्यवस्थापन शुरुवात गर्न आग्रह गर्नुभयो । सबै मिलेर जिविस परिसरमा रहेको पार्कमा पुस्तकालय खडा गरी जेष्ठ नागरिक, बालबालिका र अन्य सबैमा भेटघाट र पठन संस्कृतिको विकासको शुरुवात गर्न उहाँले आग्रह गर्नुभयो ।

अन्यत्र घुम्ती पुस्तकालयको समेत प्रचलन भइसकेको हुनाले अब पुस्तकालयलाई समय सापेक्ष बनाउँदै पठन संस्कृतिको विकास गर्न सबैलाई आग्रह गर्नुभएको थियो । जिल्ला शिक्षा अधिकारी सीताराम श्रेष्ठले सरकारको अवधारणा विद्युतीय पुस्तकालयकै विकासमा केन्द्रीत रहेको बताउनु हुँदै जिल्ला शिक्षा कार्यालयले पुस्तकालय विकासको लागि ८२ वटा विद्यालयहरुलाई कम्प्युटर तथा पुस्तक खरिद अनुदान दिएको, शिक्षक तालिमहरुमा पठन संस्कृतिको विकासका लागि आग्रह गर्ने गरिएको जानकारी दिनुभयो ।

आफैं अग्रसर भएर वेवसाइट र इ लाइब्रेरी बनाउन आए शिक्षा कार्यालय सहयोग गर्न तयार रहेको पनि उहाँले बताउनु भयो । अन्तरक्रियामा सहभागिता जनाउँदै नागरिक समाजका अध्यक्ष परशुराम तिवारीले पुस्तकालयको व्यवस्थापकीय पक्षलाई समयानुकुल प्रविधीको प्रयोगले समय सापेक्ष बनाउनु पर्ने बताउनु भयो ।

त्यस्तै विद्योदय उच्च माविका प्रअ कमलप्रसाद राईले विद्यालयहरुमा रहेका पुस्तकालयहरुमा पुस्तक थप्न, कर्मचारी व्यवस्थापन र पुस्तकालय व्यवस्थापनमा चुनौती रहेकोले सरकारको पक्षबाट तालिम गोष्ठी र बजेटको व्यवस्थ ागर्न माग गर्नुभयो । त्यसैगरी यशोधरा उच्च माविका शिक्षक अम्रिका ताम्राकारले शिक्षक विद्यार्थीका लागि पुस्तकालय प्रयोगको व्यवस्थापन प्रभावकारी गर्नुपर्ने बताउनु भयो ।

रामअम्बर शहिद पुस्तकालयका अध्यक्ष कर्ण मोक्तानले पुरानो पुस्तकालय भएकोले सबैले सहयोग गरी इलाइब्रेरीको अवधारणामा जान मद्दत गर्नुपर्ने माग राख्नु भयो । पत्रकार राजन समिपले पठन संस्कृतिको विकासका लागि प्रत्येक विद्यालयमा पुस्तकालय व्यवस्थित गर्नुपर्ने धारणा राख्नुभयो ।

भोजपुर बहुमुखी क्याम्पसका विद्यार्थी द्धय आशा खड्का र सुष्मा खत्री लगायतले क्याम्पसमा माग बमोजिम पुस्तकहरु नभएको गुनासो गरेका थिए । कार्यक्रममा रणबम गुल्मका गुल्मपति सन्तोष कार्की, जिल्ला प्रहरी कार्यालयका प्रमुख काजी कुमार आचार्य, नेपाली काँग्रेसका सभापति नन्दमणी राई, साहित्यकार शेरबहादुर मोक्तान लगायतका समेत सहभागिता रहेको थियो ।

सरकारी निर्णय अनुसार देशभर साताव्यापी कार्यक्रमहरु बिहिवारबाट शुरु भएका छन् । २०६५ सालदेखि भाद्र १५ गते राष्टिय पुस्तकालय दिवस मनाउन शुरु गरिएको हो ।

प्रकाशित मिति: १० भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्